मुलुकमा स्थापित गलत पात्र कै कारण नेपालको राजनीति फेरी एकपटक संक्रमणकाल उन्मुख देखिएको छ । आफ्नो जीवनको संघर्षपूर्ण इतिहासको दुहाई दिने नेतृत्वले देशको बागडोर सम्हालेर एकछत्र ३० वर्षसम्म कुनै न कुनै भूमिकामा स्थापित हुँदापनि देशलाई संक्रमणबाट माथि उठाउन सकेन ।
सँधैभरि आफ्नो निजि स्वार्थपुर्तीकै लागि आकर्षक तर बेतुकका नारा दिएर जनतालाई सडकमा ओराल्ने, सम्वृद्धिका नारा दिने, मिठा मिठा शब्दजालले भरिपुर्ण घोषणापत्र बेच्दै भोट किन्ने अनि जितेर पनि सरकार चलाउन नसक्ने अवस्थाले जनतालाई भने सम्वृद्धि तर्फ होइन देश भित्र बसे सडकको बास नत्र खाडी मुलुक तर्फ उठिबासको अवस्थामा पु¥याएको छ ।
पछिल्ला समय बिकसित भएका राजनैतिक घटनाक्रलाई हेर्दा भन्नै पर्ने हुन्छ, केहि नेता र तिनका आसेपासे भरियाहरुलाई मात्र यतिबेला मुलुक भुस्वर्ग बन्न पुगेको छ, बाँकी आम नेपालीका लागि मुलुकको राजनीति घृणायोग्य बिषय बन्दै गएको छ । नेकपा अध्यक्ष प्रचण्डको भाषा उधारोमा लिएर भन्ने हो भने,नेपालको राजनीति मौलिक छ, संसारमा कहिँ नभएको राजनीतिक परिबर्तनदेखि आन्दोलनलाई समेट्ने क्रममा समेत दुनियामा नभएको मौलिक अभ्यास नेपालमा मात्र भएको छ ।
छिटो छिटो परिबर्तन, भिषण आन्दोलन अनि त्यसको ब्यवस्थापन पनि नेपालमा मात्रै सफल ढंगले भएको र यसमा नेपाली राजनैतिक नेतृत्व सफल भएको छ । तर स्थिती नेता प्रचण्डले भनेभन्दा विपरित नै छ । प्रचढडले, जतिसुकै आफ्नो कृतिको ब्याख्या र तारिफ गरेपनी उनले दावि गरे अनुसारको सफलता तर्फ देशको राजनीति गईदिएको भए स्वभाबिकरुपमा यतिबेलासम्म देशले काँचुली फेरी सक्ने थियो ।
राजनीति मौलिक कि पराधीन ? फेरी एकपटक बहसको बिषय बन्न पुगेको छ । बिगत देखिनै यसलाई बहसमा ल्याईनु पर्दछ भन्दै बिभिन्न कोणबाट यस बारे आवाज नउठेको पनि हैन । तर नेपालको संविधान २०७२ जारी भईसकेपछि सेलाएको यो बिषय पछिल्लो विपरित घटनाले पुनः यसमा बहस आबश्यक रहेको र यसमा ढिला समेत भईसकेको आभाष समेत पाउन थालिएको छ ।
पराधीन राजनीति लाई मौलिक जलप जति लगाएपनि सधै दिशा बिहिन बनेको राजनैतिक परिबेषले सम्बन्धित सबैलाई गिज्ज्याई रहेको यथार्थ कसैबाट छिपेको छ र ? आज स्थापित नेतृत्व आफ्नो उपलब्धि यो हो भन्दै जनतासंग साक्षात्कार गर्न सक्ने अवस्थामा छ ? सुरक्षा दस्ताको घेरा बाहिर निस्कन सक्ने आँट यी घोषित शिर्षस्थमध्ये कति जना संग छ ? सरकारले दिएको दर्जनौ सुरक्ष दस्ताले नपुगेर आफ्नो छुट्टै बटालियन खडा गर्नुपर्ने नेतृत्व पंक्तिले आफुलाई जननेता, राष्ट्रपिता, सर्वोच्च कमान्डर जस्ता पदवी आफैं गुथ्न पुग्दा ति शब्दहरु ले समेत तिनलाई गिज्ज्याउने अवस्था देखिएको छ ।
झन्डै दुइ तिहाईको जनमत प्राप्त पार्टी प्रधानमन्त्रीको निमित्त प्रतिपक्षको शरणमा छ । हामीले चुनाब जित्यौं, हाम्रो पार्टीको नेता प्रतिगमनकारी भयो, तपाईंहरु प्रधानमन्त्री लिनुस, रहलपहल हामीलाई पनि दिनुहोस भन्नु पर्ने अवस्था पनि शायद दुनियामा कहिँ नहोला ! मौलिकता शायद यसैलाई भन्नुपर्ने हो या छिमेकी हरुको गोटी बन्दै स्वविवेक गुमाएर जनताको नाममा अर्कालाई पोस्ने प्रकारको राजनीतिलाई भन्नुपर्ने हो ? छुट्ट्याउन सजिलो छैन ।
अहिले नेतृत्व तहमा बसेकाहरुले दावि गरेजस्तै मुलुकको राजनीति मौलिक भन्दा पनि पराधीनता तर्फ लागेको छ । कसैले जुट भन्दा जुटिदिनु पर्ने र फुट भन्दा फुटिदिनु पर्ने, उठ भन्दा उठिदिनु पर्ने र बसभन्दा बसिदिनु पर्ने स्थितीमा राजनैतिक नायकहरु रहेका छन् । सँधै बिदेशीको चिन्तन मनन गर्दै देशको हितमा निर्णय गर्नु पूर्व बिदेशीको राय लिने असक्षम नेतृत्व कै कारण नेपाली राजनीति विकृत हुँदै गएको तथ्य जग जाहेर नै छ ।
सर्बगुण सम्पन्न, सम्पदाले धनि देश नेपाललाई संसारकै गरिब मुलुकको दर्जामा पु¥याउँदा पनि कहिलै न अघाउने यस्तो नेतृत्वलाई पटक पटक मुलुकको ताला चाबी सुम्पन वाध्य नेपाली जनताको दुर्भाग्यको कथा कहाँ गएर अन्त्य होला ? उराठीलो दिनचर्या भित्र निसास्सिएको जीवन जिउनु बाहेक नेपालीको अर्को बिकल्प छ कि छैन? पालैपालो क्षमता बिहिन छ जना वर्तमानका पन्च हरुलाई चाबी बुझाउदै देशको दुर्दिन को कथा बन्न नेपाली जनता कहिले सम्म लाग्ने हो, यो नै आजको मूल प्रस्न बनेको छ ।