एजेन्सी , १० भदौ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा सहमति जुटन नसक्दा इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको प्रस्ताव तत्काललाई अस्विस्कृत भएको छ । १५ सदस्यीय सुरक्षा परिषद् बैठकमा सहमति जुट्न नसक्दा राष्ट्रसंघले इरानमाथि प्रतिबन्ध लगाउने बिषयमा थप कदम चाल्न नसकिएको परिषद्ले जनाएको छ ।
१३ सदस्य राष्ट्र प्रस्तावको विरुद्ध उभिएको सुरक्षा परिषद्का अध्यक्ष डियान ट्रियान्शा जानीले जानकारी दिनुभयो । सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिकाले २ बर्ष अघि नै हात झिकिसकेकाले इरानमाथि प्रतिबन्ध लगाउनुको कुनै अर्थ नरहेको १३ सदस्य राष्ट्रको भनाइ छ ।
यसैबीच, इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले क्षमायाचना गर्दै सन् २०१५ को आणविक सम्झौतामा फर्किए सहमति जुट्न सक्ने बताउनुभएको छ । परिषदको निर्णयले इरानमाथि अत्यधिक दबाव बनाउने, सरकार ढाल्ने, जनतालाई सडकमा उतार्ने लगायत अमेरिकाको नीति परास्त भएको रुहानीको भनाई छ । ह्वाईटहाउसले आफ्नो रवैयामा सुधार गरे सहमति हुनसक्ने पनि रुहानीले बताउनुभयो ।