काठमाडौं, ७ साउन । पुराना वामपन्थी नेता बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ। विगत एक वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित बुढाको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा (बुधबार) बिहान निधन भएको हो।
उहाँको पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नु भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ।
श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा सभामुख अग्नि सापकोटा, पूर्वसभामुखहरू कृष्णबहादुर महरा र ओनसरी घर्तीमगर, नेकपा क्रान्तिकारी (माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’, ऊर्जामन्त्री वर्षमान पुन, नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल, पुराना कम्युनिस्ट नेता सीपी गजुरेल, अमिक शेरचन र देव गुरुङ लगायत नेता पुग्नु भएको थिायाे।
बुढाको अन्त्येष्टि पशुपतिस्थित विधुतीय शवदाह गृहमा गरिने भएको छ। गाउँका मुखियाहरूको अन्याय र अत्याचारविरुद्ध बोल्दा बुढा जेल पर्नु भएको थियो।
जेल जीवन बिताउने क्रममा प्युठानमा तत्कालीन कम्युनिस्ट नेता मोहनविक्रम सिंहसँग भेट भएपछि उहाँ कम्युनिस्ट आन्दोलनमा जोडिनु भएको थियो। उहाँले नै वि.स. २०१२ सालमा रोल्पामा कम्युनिस्ट आन्दोलनको विजारोपण गर्नु भएको हो।
वि.स. २०४८ सालमा उहाँ तत्कालीन राष्ट्रिय जनमोर्चाबाट सांसद हुनुभयो। ८ जना जनमोर्चाको सांसदमा उहाँ निक्कै प्रभावकारी हुनुहुन्थ्यो। त्यपछि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा पनि बुढा सहभागी हुनु भएको थियो।
उहाँलाई कम्युनिस्ट नेताहरूले अभिभावक मान्दै आएका थिए। यसैबीच नेकपा अध्यक्ष प्रचण्डले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको बताउनु भएको छ।
‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेषगरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ। सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियोद्धामा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो।’ प्रचण्डद्धारा जारी समवेदनामा उल्लेख छ।
प्रचण्डले शोक सन्तप्त परिवारजनप्रति भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गर्नु भएको छ।