काठमाडौं, ५ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक मतभेद जारी रहेकै बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादीसम्बद्ध स्थायी समिति सदस्यहरूसँग छलफल गर्नु भएको छ।
खुमलटारमा बोलाएर सोमबार स्थायी समिति सदस्यहरूसँग दाहालले पार्टीको स्थायी समिति बैठक चलिरहँदा कसरी समस्याको निकास निकाल्ने भन्दै सुझाव मागेको र आफूहरूले सुझाव दिएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताउँनुभयाे।
‘पार्टीको स्थायी समिति बैठक चलिरहेको छ, सुझाव दिनुपर्याे भनेर उहाँले बोलाउँनुभयो र खुलस्त रूपमा सुझावहरू आओस् भन्नुभयो’, स्थायी समिति सदस्य गजुरेलले इमाउन्टेन टिभी डटकमसँग भन्नुभयो, ‘हामीले पार्टी एकतालाई बचाएर अब पार्टी र सरकारको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने उपायको खोजी गर्नुपर्याे र दुई अध्यक्षले पहल लिएर बैठक ल्याण्डिङ गर्नुपर्याे भन्यौं।’
अध्यक्ष दाहालले भने प्रधानमन्त्रीसमेत रहनु भएका पहिलो अध्यक्षले नै समस्यालाई निकास दिन पहल गर्नुपर्ने र आफूहरूले पहल गर्दा नसकिएको भन्नु भएको गजुरेलले बताउनुभयो।
‘हामीले त पहल गर्दा पनि सकेनौं, समस्या समाधान गर्न सकिएको छैन’, दाहालको भनाई उदृत गर्दै गजुरेलले थप्नुभयो, ‘गम्भीरतापूर्वक लिएर उहाँ (केपी ओली) ले नै पहल लिनुपर्छ र पार्टीलाई एकीकृत गरेर लानुपर्छ।’
अध्यक्ष दाहालले पार्टीको महाधिवेशन, सचिवालय बैठकसँगै शीतल निवासको यात्रालगायत विषयमा नेताहरूलाई ‘ब्रिफिङ’ गर्नु भएको थियो।
तर, पार्टीमा चर्को मतभेद रहँदा अध्यक्ष दाहालले पूर्वमाओवादीसम्बद्ध स्थायी समिति सदस्यहरूसँग छलफल गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।




