काठमाडौं, ४ असोज । नेपाल सरकारका सबै सूचनाहरु मोबाईलबाटै हेर्न सकिने भएको छ ।
बुधबार विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहोराले नेपाल सरकारका पुराना तथा नयाँ राजपत्रहरु मोवाईलमै पढन सकिने गरी तयार पारिएको ‘नेपाल राजपत्र मोवाईल एप्लीकेसन’ सेवा शुभारम्भ गरेका हुन् । डब्लू डब्लू डब्लू डट राजपत्र डट जिओभी डट एनपी बाट नेपाल सरकारका नयाँ तथा पूराना राजपत्रहरु सजिलै पढन सकिने गरी ‘नेपाल राजपत्र मोवाईल एप्लीकेसन’ सेवा शुभारम्भ गरिएको मन्त्री बोहोराले जानकारी दिए ।
उनले विज्ञान र प्रविधिको क्षेत्रको विकासका लागि सरकारले सम्बन्धित विश्वविद्यालयसँग सहकार्य गरेर काम गर्न चाहेको पनि स्पष्ट पारे । संघीय ढाँचा अनुसार विज्ञान तथा प्रविधिको क्षेत्रको विकासमा सरकार लागि परेको छ । उनले विश्वका विभिन्न मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत नेपालीहरुलाई नेपालको हितमा काम गराउने गरी गुरुयोजना बनाउन लागिएको पनि जानकारी दिए ।
मन्त्री बोहोराले सरकार सूचना प्रविधिको विकासमार्फत् मुलुकको दीगो विकास गर्न प्रतिवद्ध रहेको पनि स्मरण गराए ।




