काठमाडौं, २७ वैशाख । नेपाल सरकारले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडकको भारतले उदघाटन गरेकोमा आपत्ति जनाएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक उदघाटन गरिएकोमा आपत्ति जनाएको हो ।
लिम्पियाधुरा, कालापानी र लिपु लेकसहित काली महाकाली नदीको पूर्व क्षेत्र नेपाली भूभाग हो भन्ने कुरा नेपाल सरकारले विगत देखि नै पटक-पटक दोहोर्याउँदै आएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि भित्र कुनै पनि गतिविधि नगर्न आग्रह समेत गरेको छ ।
पछिल्लो समयमा पनि यो कुरा नेपाल सरकारले धेरै पटक दोहोर्याएको र भारत सरकारलाई सम्बोधन गरिएको र भारतले जारी गरेको नक्शाका सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइएको परराष्ट्रको विज्ञप्तिमा स्मरण गरिएको छ । भारतको यो कदमबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग भइरहेका बेला परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेको हो ।
गत नोभेम्बरको पहिलो सातामा भारतले यी भूभागहरु आफ्नो क्षेत्रमा पर्ने गरी नयाँ राजनीतिक नक्सा निकालेको थियो । नोभेम्बरको पहिलो सातामा भारतले यी भूभागहरु आफ्नो क्षेत्रमा पर्ने गरी नयाँ राजनीतिक नक्सा निकालेको थियो ।





