काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ । आइतबार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी वैशाख २६ गते दिउँसो ४ बजे संघीय संसद प्रतिनिधि र राष्ट्रिय सभा दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
यसअघि आइतबारै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।




