एजेन्सी, ९ वैशाख । विश्वका २ सय १० देश फैलिएको कोरोना भाइसरका कारण २४ लाख ८१ हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६ लाख ४६ हजार ६७५ जना निको भएका छन् भने १६ लाख ६२ हजारभन्दा धेरैको उपचार चलिरहेको छ ।
जसमध्ये ५६ हजार ७ सय २० जना गम्भीर अवस्थामा रहेका र बाँकी १६ लाख ५ हजार भन्दा धेरैको अवस्था सामान्य रहेको बताइएको छ । विश्वभर १ लाख ७० हजार भन्दा बढीको मृत्यु भएको छ । यूरोपमा मात्र मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । ११ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । ३ लाख २१ हजार जना निको भएका छन् ।
स्पेनमा मात्रै २ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २० हजार ८ सय भन्दा धेरैको मृत्यु भएको छ । यस्तै इटालीमा २४ हजारभन्दा धेरैको मृत्यु हुँदा भने १ लाख ८१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसैगरी फ्रान्समा पनि २० हजारभन्दा धेरैको मृत्यु भएको छ । यूरोपपछि उत्तर अमेरिका प्रभावित छ ।
त्यहाँ ८ लाख ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै ७ लाख ९१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ, ४२ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ गएको २४ घण्टामा १९ सय भन्दा धेरैको ज्यान गएको छ । उत्तर अमेरिकामा अहिलेसम्म ८८ हजारभन्दा धेरै निको भएका छन् ।
यसैगरी एसियामा अहिलेसम्म ३ लाख ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । १ लाख ८६ हजार निको भएका छन् भने १५ हजार १ सय ५ जनाको ज्यान गएको छ । एसियामा सबैभन्दा धेरै संक्रमित टर्कीमा छन् । त्यहाँ ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २१ सय भन्दा धेरैको ज्यान गएको छ ।
यसैगरी इरानमा ५२ सय भन्दा धेरैको ज्यान गएको छ भने ८३ हजार ५ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।