सुदूरपश्चिम प्रदेश : २५९ नमूना नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेश : २५९ नमूना नेगेटिभ

pradesh7

काठमाडौं, २९ चैत । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा प्रयोगशाला परीक्षणबाट २५९ नमूनाको नतिजा नेगेटिभ आएको छ ।

यहाँ शुक्रबार आयोजित ‘कोभिड–१९ मिडया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये एक हजार ४३२ नमूनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए । प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोरनाको सङ्क्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

शुक्रबारसम्म आरडिटी टेष्ट किटबाट कैलालीका ४८९, कञ्चनपुरका १३७ र डोटीका २१३ जनाको रगतको नमूना परीक्षण जाँच गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्कीले जानकारी दिए । क्वारेन्टाइनमा बसेका सबैको आरडिटी माध्यमद्वारा रगतको नमूना जाँच गर्ने लक्ष्य छ । नमूना जाँचमा पोजेटिभ नतिजा आउनेको स्वाब सङ्कलन गरी परीक्षण गरिने जनाइएको छ ।

क्वारेन्टाइनमा बस्नेहरु थपिदै 

प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टाइनमा शङ्कास्पद बिरामी थपिने क्रम बढ्दै गएको छ । शुक्रबारसम्म जम्मा ५६ बालबालिकासहित दुई हजार ५१३ क्वारेन्टाइनमा बसेका छन् । बिहीबारसम्म क्वोरेन्टाइनमा ५६ बालबालिकासहित दुई हजार ४६६ बसेको तथ्याङ्क थियो । यस्तै बिहीबारसम्म १७ विभिन्न अस्पतालको आइसोलेसनमा बसेकोमा शुक्रबार दुई जना थपिएका छन् । आइसोलेसनमा बसेकामध्ये ५८ सामान्य उपचारपछि फर्किको जनाइएको छ ।

 

 होम क्वारेन्टाइनमा बस्नुपर्ने गरी घर पठाइँदै

क्वारेन्टाइनमा कति दिन बस्नुपर्ने भन्नेमा सम्बन्धित व्यक्तिमा अन्योलता बढिरहेको बेला १४ दिन क्वारेन्टाइनमा बसिसकेका व्यक्तिको हकमा उनीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने सुनिश्चितता गरी घर पठाउने तयारी गरिएको छ ।

स्वास्थ्य महाशाखाका प्रमुख कार्कीले सङ्क्रमित क्षेत्रबाट आई प्रदेशका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसिसकेका व्यक्तिको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा वा आरडिटी (र्यापिड डाइग्नोसिस टेस्ट) परीक्षण नतिजा नेगेटिभ आएमा त्यस्ता व्यक्तिलाई थप सात दिन निजकै घरमा क्वारेन्टाइन बस्ने सुनिश्चितता गरी घरपठाउने तयारी गरिएको जानकारी दिनुभयो । आरडिटी परीक्षणमा नतिजा पोजेटिभ आएका व्यक्तिलाई भने थप सात दिन क्वारेन्टाइनमा नै राखी थप जाँचको काम गर्न लागिएको छ ।

स्वास्थ्य सामग्री प्राप्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशमा शुक्रबार मात्रै ४० थान चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपीइ प्राप्त भएको छ । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालावाट पाँच हजार थान आरडिटी टेस्ट किट प्राप्त भएको छ । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९को व्यवस्थापनका लागि सहजीकरण र क्षमता अभिवृद्धि गर्न खटिएको स्वास्थ्य सेवा विभागका डा भीमसिंह टिङ्करीको नेतृत्वको टोली शुक्रबार धनगढी पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);