काठमाडाैं, २६ चैत । तराईका स्थानीय तहले बनाएका क्वारेन्टाइन खाली–खाली रहेका बेला पहाडमा भने कोचाकोच छन् । पहाडी जिल्लामा नाम मात्रैका क्वारेन्टाइन बनाइएका छन् ।
डोटीका अधिकांश क्वारेन्टाइन सरकारले तोकेको मापण्दण्डअनुसार छैनन् । उनीहरूलाई घर जानबाट रोकिए पनि एकै सिरकमुनि तीन–चार जना सुतिरहेका छन् । कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी अनिवार्य भनिएका बेला पहाडी जिल्लाका क्वारेन्टाइनमा एकै कोठामा भेडाबाख्रा खाँदेझैं मानिस राखिएका छन् ।
‘क्वारेन्टाइनको बसाइ साह्रै नराम्रो भएकाले जतिसक्दो चाँडो घर पठाउन सरकारलाई आग्रह गर्दछु’, डोटीको आदर्श गाउँपालिकास्थित शारदा मावि क्वारेन्टाइनमा बसेका ओम थापाले भने, ‘बसाइ पूरै अव्यवस्थित छ । खोरमा भेंडा, बाख्रा राखेजस्तै राखिएको छ ।’ उनले चिसोले गर्दा झनै बिरामी भएको बताए ।
डोटीकै शिखर नगरपालिका–४ स्थित पञ्चोदय मावि धुर्कोटको क्वारेन्टाइनमा बसेका छन्, नारायण महरा । बिनाकारण सजाय पाइरहेजस्तो अनुभव भएको उनले बताए । ‘बिनाकारण सजाय भोगेजस्तो भइरहेको छ’, उनले भने, ‘क्वारेन्टाइनमा राम्रो व्यवस्था छैन । एकै सिरकमुनि तीन–चार जना सुत्नुपरेको छ । गोठमा गोरु थुनेको जस्तो गरिएको छ ।’
क्वारेन्टाइन बसेको मंगलबार १४ दिन पुगेको छ । ‘हामी त मंगलबार घर जान पाइने भयो भनेर खुसी भएका थियौं तर प्रदेश सरकारले २१ दिन बस्नुपर्छ भनेपछि तनाव भयो’, सिद्धेश्वर माविमा रहेको क्वारेन्टाइनमा बसेका दीपक बलायरले भने । गहुँ खेती भिœयाउने बेलामा यसरी बिनाकाम बस्नुपरिरहेको गुनासो उनले गरे ।
गाउँमा कुनै पनि क्वारेन्टाइन सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिकाअनुसार सञ्चालनमा छैनन् । भारतबाट आएकाहरूलाई कोरोना संक्रमण नहोस् भनेर कम्तीमा पनि डेढ मिटर दूरी कायम गरी बस्नुपथ्र्यो । तर, एकै सिरक वा कम्बलमुनि तीन–चार जना सुत्नुपरेकाले उनीहरूमा अझ जोखिम देखिएको छ ।
पहाडका अधिकांश क्वारेन्टाइनमा व्यवस्थापकीय कमजोरी देखिएको छ । संक्रमण रोक्न र समुदायमा फैलिन नदिन राखिएका क्वारेन्टाइनबाटै संक्रमणको खतरा रहेको उनीहरू बताउँछन् । राति झनै चिसो हुने भएकाले अधिकांश क्वारेन्टाइनमा ओढ्ने–ओच्छ्याउने कपडाको कमी छ भने साबुन, पानी, दाउरालगायत पनि समस्या देखिएको उनीहरूले बताएका छन् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।