१४ शीर्षकको खर्चमा रोक लगाउने अर्थ मन्त्रालयको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

१४ शीर्षकको खर्चमा रोक लगाउने अर्थ मन्त्रालयको निर्णय

aartha mantralaya

काठमाडौं, २१ चैत । अर्थ मन्त्रालयले अनुत्पादक भनिएका १४ शीर्षकको खर्चमा रोक लगाउने निर्णय गरेको छ । मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च आवश्यक परेको भन्दै अनुत्पादक भनिएको क्षेत्रको खर्चमा रोक लगाएको हो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस का कारण आर्थिक गतिविधि प्रभावित बनाएको भन्दै विनियोजन ऐन, २०७६ बमोजिम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका केही कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न निकायमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएको हुँदा हाललाई बजेट स्थगित गरिएको हो ।

आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व ऐन ०७६ को दफा २१ (१) मा रहेको व्यवस्थाबमोजिम विनियोजित बजेटमध्ये ०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको बाहेक बाँकी बजेट तत्काल लागु हुने गरी रोक्का गरिएको मन्त्रालयले जनाएको छ ।