वीरगञ्ज, ३ असोज । वीरगञ्ज महानगरपालिकाको मतगणना स्थलमा तारजाली र सिसी क्यामेरा जडान गरिएको छ। दलका प्रतिनिधि आउन ढिला हुँदा अझै मतगणना सुरु हुन सकेको छैन।
वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु गर्ने विषयमा छलफल गर्न बिहानै सर्वदलीय बैठक बसेको थियो । अहिलेसम्म प्राप्त जानकारी अनुसार प्रदेश नम्बर दुईमा ८ जिल्लाका १३६ वटा स्थानीय तहमा हिजो सोमबार मतदान सकिएको थियो। अहिले ७० वटा स्थानीय तहमा मतगणना भइरहेको छ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए। त्यतिबेला सुरक्षा कर्मी र आयोगका कर्मचारीको लापरवाहीका कारण मतपत्र च्यातिएको अनुमान गरिएको थियो।
त्यपछि भएका निर्वाचनको मतगणनामा सकेसम्म तार जारी लगाउने र मतगणना क्षेत्र सुरक्षित बनाउन थालिएको छ। वीरगञ्जमा पनि अहिले मतपत्र सुरक्षित राख्नका लागि तारजाली लगाईएको हो।