एकै दिन ७६ कोरोना संक्रमणको नमुना परीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकै दिन ७६ कोरोना संक्रमणको नमुना परीक्षण

swasthya-mantralaya

काठमाडौं, १७ चैत । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षणको दायरा बढाउदै सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरेको हो ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९ सय ९३ वटा नमुना परीक्षण गरिएको र सोमबार मात्रै ७६ वटाको नमुना परीक्षण भएको बताउनुभएको हो ।

सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको र धरानमा नमुना परीक्षण सुरु भईसकेको र सोमबार सम्म १९ वटा नमुना परीक्षण भईसकेको पनि उहाँले जानकारी दिनुभयो । डाक्टर देवकोटाका अनुसार, सोमबार धरानमा थप ६ वटा नमुना परीक्षण भईरहेको छ । धनगढी, सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरि आवश्यक उपकरण पठाईएको छ ।

मन्त्रालयले बुटवलमा दुवईबाट आएका ३४ बर्षिय पुरुषको मृत्यु कोरोना भाइरसका कारण नभएको पुष्टि गरेको छ । ती व्यक्तिको स्वाव परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको डाक्टर देवकोटाले जानकारी दिनुभयो । पाटन अस्पतालमा मृत्यु भएका ३६ बर्षिय पुरुष र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको कोरोना संक्रमणको नमुना परीक्षणको क्रममा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

अहिले सम्म कोरोना संक्रमण देखिएका ४ वटै पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको र उनीहरुका नजिकका परिवारका सदस्य र आफन्तहरुको हाल सम्म गरिएको परीक्षण नेगोटिभ आएको पनि मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयको स्रोतबाट प्राप्त जानकारी अनुसार अहिले सम्म प्रदेशहरुमा ९३ जना आईसोलेसनमा रहेको र २ सय १७ वटा नमुना संकलन भएको पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो । उहाँले प्रत्येक प्रदेशमा १ हजार सेट पीपीइ, १० हजार भन्दा बढी मास्क, २० हजार भन्दा बढी ग्लब्स पठाईएको जानकारी दिनुभयो । उहाँले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट ती सामान पुगिसकेको र अन्य ४ वटा प्रदेशकमा स्थलमार्ग हुदै पठाईएको बताउनुभयो । त्यसैगरी क्लोरिन र अन्य सामाग्रीहरु पनि सबै प्रदेशलाई पठाईएको पनि उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहमा रहेका विदेशबाट आएका व्यक्तिहरु मध्ये अहिले सम्म ४१ हजार १ सय ४० जनाको लिखित विवरण अद्यावधी गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले कोरोना भाइरसको संक्रमणको लोकल ट्रान्समिसन नदेखिएकाले धेरै भयभीत नहुन र सबै मृत्युका घटनालाई कोरोनासंग नजोड्न उहाँले आग्रह गर्नुभयो । जो मर्यो त्यो कोरोनाले मर्यो भन्ने किसिमको प्रचार प्रशार हुनु दुखद भएको उहाँले उल्लेख गर्नुभयो ।

कोरोना संक्रमण भईसकेपछि पनि १५ प्रतिशत मानिसमा मात्रै जटिल किसिमको लक्षण देखिने र ५ प्रतिशत मानिसलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेकोले धेरै डर र भय नपाल्न उहाँले आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);