चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम सर्वसम्मत अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं, १० चैत । चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । सोमबार बसेको समिति बैठकले चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम सिफारिस गरको हो । समिति सभापति लक्ष्मणलाल कर्णले पाण्डेको नाम राजदूतका लागि सर्वसम्मत सिफारिस गरिएको बताउनुभयो ।

गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डे विरुद्ध समितिमा कुनै पनि उजुरी परेन ।

संसदीय समितिले फागुन २८ गते उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो । सो समयमा कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ ।

प्रस्तावित राजदूत पाण्डेले दुई देशबीच भएका सम्झौता कार्यान्वयन र समयसीमा भित्र काम सक्न आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले नेपाल र चीनबीच निरन्तर उच्चस्तरिय तथा औपचारिक र अनौपचारि भ्रमणको आदान प्रदान गराउन प्रयत्न गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

पाण्डेले चीनको राजनीतिक, आर्थिक, सामाजिक तथा सामरिक अवस्था, प्रवृति तथा परिवर्तनको अध्ययन गरी नेपालमा पर्न सक्ने असर र सम्भावनाको विश्लेषण गरी परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारलाई प्रत्येक महिना प्रतिवेदन पेश गर्ने बताउनुभएको छ ।

पाण्डले चिनियाँ लगानीकर्तालाई नेपालको जलस्रोत, कृषि, भौतिक पूर्वाधार लगायत अन्य क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । नेपाली उत्पादनका लागि स्थानीय बजार खोजी गरी निर्वाध र सौविध्यपूर्ण निर्यातको वातावरण बनाउन लागिपर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ । समितिले नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई राजदूतमा नियुक्त गर्नुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);