नयाँ शैक्षिक सत्रको नयाँ भर्ना नलिन सरकारको अपिल | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

नयाँ शैक्षिक सत्रको नयाँ भर्ना नलिन सरकारको अपिल

education

काठमाडौं, ४ चैत । सरकारले शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन अपिल गरेको छ । कोरोना भाइरसको जोखिम तथा सन्त्रास बढिरहेको हुँदा चालू वर्षको परीक्षा सकिए लगत्तै नयाँ भर्ना नखुलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अपिल गरेको हो ।

कक्षा १ देखि ९ सम्मको चालु वर्षको परीक्षा बुधवार सकिँदैछ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार अपिलपत्र जारी गर्दै बालबालिकालाई घर बाहिर नजान, विद्यालयमा सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाको नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध गर्नुभएको छ ।

त्यसैगरी माध्यमिक शिक्षा परीक्षा एसईई चैत ६ गतेबाट सुरु भइ १७ गते सकिनेछ। एसइइ परीक्षा पूर्वनिर्धारित समय तालिका अनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रबन्ध गरिएको मन्त्री पोखरेलको अपिलमा उल्लेख छ ।

एसइइ परीक्षाको तयारी पूरा भएको उल्लेख गर्दै अपिलपत्रमा ‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको जनाइएको छ ।