काठमाडौं, ४ चैत । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सम्पूर्ण खेलकुद गतिविधि एक हप्ताका लागि बन्द गर्न निर्देशन दिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई मध्यनजर गर्दैै मंगलबार राखेपले एक हप्ता देशको सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएको हो ।
राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो । राखेपले त्यसपछि भने परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको छ ।
कोरोना भाईरस अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सिर्जना भएको र विश्वका ठुला राष्ट्रले समेत विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानविय भेला हुने सम्पूर्ण गतिविधि एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको राखेपले जनाएको छ ।
यस्तै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।
राखेपको निर्देशनसंगै अखिल नेपाल फुटबल संघ एन्फाले चैत १२ गतेसम्मका लागि सहिद स्मारक बी डिभिजन लिग स्थगित गरेको छ ।
साथै एन्फाले आयोजना गर्ने सबै गोष्ठी, सभा सेमिनार तथा अन्य फुटबल लगायतका कार्यक्रमहरु तथा एन्फा टेक्निकल सेन्टर धरान, बुटवल लगायत सातदोबाटो एकेडेमीहरु र एन्फा सचिवालय पनि चैत्र १२ गतेसम्म बन्द गरेको छ ।