एजेन्सी, ३ चैत । अष्ट्रिया सरकारले कोरोना भाइसरको संक्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा मानिसहरु भेला हुन रोक लगाएको छ ।
आइतबार एक निर्देशन जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको हो । अनावश्यक रूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन समेत आग्रह गरेको छ । सरकारले आगामी मंगलबारदेखि त्यहाँका रेस्टुरेन्टहरु पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन् ।
अष्ट्रियामा संक्र्रमणका कारण एक जनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ । साथै अष्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।