साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

liverpool vs atletico madrid

एजेन्सी, २९ फागुन । साविक विजेता इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३–२ गोल अन्तरले पराजित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

घरेलु मैदानमा जित्नै पर्ने खेलमा लिभरपुल अतिरिक्त समयमा स्पेनिस क्लबसँग स्तब्ध भयो । खेलमा सुरुवाती अग्रता पनि लिभरपुलले लिएको थियो । खेलको ४३ औं मिनेटमा जर्जियानो विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० मिनेट समग्रमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको चौंथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए । तर, ९७ औं मिनेटमा एट्लेटिकोका मार्कोस लोरेन्टले गोल गर्दै खेल २–१ मा ल्याए ।

१०५ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोले खेल २–२ को बराबरी गर्न सफल भयो । त्यसपछि खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई ३–२ को जित दिलाए ।

एनफिल्डमा उत्कृष्ट पुनरागमन जितसँगै एट्लेटिकोले भने च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ । यस अघि घरेलु मैदानमा भएको पहिलो लेगमा एट्लेटिकोले १–० को जित निकालेको थियो ।

ताजा समाचार