चीनमा क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

चीनमा क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको मृत्यु

Hotel-collapse-in-China

एजेन्सी, २५ फागुन । चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको मृत्यु भएको छ । क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो ।

चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल भत्किएको हो । अझै भग्नावशेष भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार भत्किएको होटलमा ७० जना फसेका थिए । तीमध्ये ४७ जनाको उद्धार गरिएको छ ।

सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन । चीनको हुबेई प्रान्तको वुहान उद्गम भएर फैलिएको कोरोना भाइरसबाट चीन सबैभन्दा प्रभावित छ । आइतबार बिहानसम्ममा चीनमा मात्रै ३ हजार ७० जनाको कोरोनाका कारण ज्यान गएको छ । विश्वका ९७ देशमा यसको संक्रमण फैलिएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार चीनमा संक्रमितको संख्या ८० हजार ६ सय ५१ पुगेको छ । त्यस्तै ५५ हजार ४ सय ४ जना निको भएका छन् भने ५ हजार ४ सय ८९ जना गम्भीर अवस्थाका बिरामी छन् । चीनमा संक्रमणको दर घट्दै गए पनि इटाली, इरान र दक्षिण कोरियामा भने तीव्र रुपमा बढिरहेको छ ।

चीनबाहिर सबैभन्दा बढी इटालीमा १सय ९७ जनाको मृत्यु भएको छ । त्यस्तै इरानमा १सय २४ जनाको मृत्यु भएको छ । चीनपछि सबैभन्दा बढी कोरोना संक्रमण दक्षिण कोरियाका व्यक्तिमा देखिएको छ । त्यहाँ ६ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ भने ४४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । कोरोनाले स्पेनमा ८, इराकमा ४, हङकङ र बेलायतमा २–२ तथा थाइल्यान्ड, ताइवान, नेदरल्यान्ड्स, फिलिपिन्स र स्विजरल्यान्डमा एक–एक जनाको मृत्यु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);