एजेन्सी, १९ फागुन । इंग्लिश प्रिमियर लिग फुटबलमा वुल्भ्स विजयी भएको छ । आइतबार राति भएको खेलमा टोटनहम घरेलु मैदानमा वुल्भ्ससँग ३–२ गोल अन्तरले टोटनहम पराजित भएको हो ।
वुल्भ्सको जितमा माट दोहेर्टी, डिएगो जोटा र राउल जेमिनिजले एक एक गोल गरे । टोटनहमका स्टेभेन बेर्गविजन र सेर्गे औरिएरले एक एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटनहम पराजित भएको हो ।
खेलको १३ औं मिनेटमा स्टेभेनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा माटले गोल गर्दै वुल्भ्सलाई १–१ गोलको बराबरीमा ल्याए । ४५ औं मिनेटमा सेर्गेले गोल गर्दा घरेलु टिम पुनः २–१ ले अघि रह्यो । ५७ औं मिनेटमा जोटाले गोल गर्दै वुल्भ्सलाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७३ औं मिनेटमा जेमिनिजले गोल गर्दै वुल्भ्सलाई ३–२ को जित दिलाए ।
जितसँगै वुल्भ्सले २८ खेलबाट ४२ अंक जोडेको छ । र, वुल्भ्स लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा ४० अंक जोडेको टोटनहम सातौं स्थानमा रहेको छ ।




