आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई एकसाथ अगाडि बढाउनुपर्छ : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई एकसाथ अगाडि बढाउनुपर्छ : अर्थमन्त्री

काठमाडौं, १६ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो अन्तराष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायीत्वलाई एकसाथ लैजानुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको र चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार नै उच्च आर्थिक वृद्धिदर हुने बताउनुभयो ।

उहाँले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपले बढाउन वित्तीय संघीयताको कार्यान्वयनमा जोड दिनुभयो । मुलुकमा वित्तीय संघीयता लागु भइसकेको र सरकार त्यसमा सफल हुँदै गएपनि केही गैह्र बैंकिङ क्षेत्रका कारण समस्या भइरहेको संकेत गर्नुभयो ।

उहाँले पछिल्लो समय नेपालमा छायाँ बैंकिङको प्रवृति हावी भएको र वाणिज्य बैंकले गर्ने काम अन्य गैह्रबैंकिङ संस्थाहरुले गर्न थालेको बताउनुभयो । उहाँले फरक फरक नाउँमा बैंक, वित्तीय संस्था र गैह्रबैंकिङ संस्थाले एउटै काम गर्दा, सरकार, केन्द्रिय बैंक र जनता अलमलमा परेको बताउनुभयो ।

उहाँले बैंकिङ गतिविधि मात्र वित्तीय समावेशिकरण नभएकाले बीमा कम्पनीहरुले जोखिम बहन नगरे बैंक तथा वित्तीय संस्थाहरु जोखिममा पर्नसक्ने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपमा अगाडि बढाउन चुनौति देखा परेको बताउनुभयो । उहाँले सरकार व्यववसाय गर्न असफल भएपनि बजारलाई असफल हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले बजार असफल भएमा सरकार समेत असफल हुने भएकाले निजी क्षेत्रलाई साथमा लिएर उच्च आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको समेत बताउनुभयो ।

त्यसका लागि आन्तरिक उत्पादन बढाउन स्थानीय उत्पादनमा जोड दिइएको र आधारभुत सेवा र आधारभुत पूर्वाधार निर्माणका काम भइराखेकोले विकासको आधारहरु तयार हुँदै गएको उहाँले बताउनुभयो ।

शनिबार सम्म चल्ने सम्मेलनमा छलफल हुने विषयहरुबाट वित्तीय स्थायीत्वका लागि नीति निर्माणमा सहयोग पुग्ने विश्वास समेत अर्थमन्त्री खतिवडाले गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);