काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको छाया सरकारको पहिलो बैठक बसेको छ । गत जेठमा गठन भएको छायाँ सरकारको बैठक आइतबार बसेको हो ।
वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँले बैठकले बिभिन्न मन्त्रालयमा भ्रष्टाचार ब्याप्त रहेको भन्दै त्यस बिषयमा अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको बताउनुभयो ।
पाण्डेले संसदमा भएका अन्य दलहरुसँग मंगलवार बस्ने संसद बैठकलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सोमवार छलफल गरिने बताउनुभयो । गत जेठमा गठन भएको कांग्रेसको छाया सरकारको बैठक पहिलो पटक आइतबार बसेको हो ।
प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गर्नुभएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समिक्षागत छलफल भएको थियो । बैठकले भ्रष्टाचारका बिरुद्ध सदन र सडकबाट प्रभावकारी ढंगले अघि बढ्ने निर्णय पनि गरेको छ ।




