योगदानका आधारमा सांसदहरुको मूल्याङ्कन हुनुपर्छ : अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

योगदानका आधारमा सांसदहरुको मूल्याङ्कन हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

Ganesh-Timalsina

काठमाडौं, ६ फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति निर्माणमा पु-याएको योगदानका आधारमा सांसदहरुको मूल्याङ्कन हुनुपर्ने बताउनुभएको छ ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधि निर्माण र कार्यान्वयन परीक्षण तथा मूल्याङ्कन सम्बन्धमा प्रकाशित गरेको पुस्तिकाको मंगलबार सिंहदरबारमा विमोचन गर्दै अध्यक्ष तिमिल्सिनाले सांसदहरुको मूल्याङ्कन नीति निर्माणमा गरेको सहभागिताका आधारमा गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले सांसदहरु नीति निर्माणमा भन्दा बढी समय आफुले जनतासँग प्रतिवद्धता गरेका आयोजना बजेटमा समावेस गर्न मान्त्रालयका कोठाकोठामा खर्च गर्ने गरेको बताउनुभयो ।

उहाँले चुनावको बेलामा नीति निर्माणमा समय दिन्छु भन्ने वचनवद्धता गरेर निर्वाचित भएर आउने सांसदहरु पाउनै कठिन रहेको बताउनुभयो । त्यसैले सांसदहरुको मुख्य काम नीति निर्माण हुने भएकाले चुनावमा समेत नीतिनिर्माण गर्छु भनेर आउने परिपाटीको विकास गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समाज र संसदको सम्बन्ध घनिष्ट बनाउन पनि सांसदहरुको ध्यान सबैभन्दा बढी नीति निर्माणमा हुनुपर्ने बताउनुभयो ।

उहाँले ऐन निर्माण पछि ऐनको उद्देश्य पुरा भयोकी भएन या त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने विषयमा पनि मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहको बताउनुभयो । ऐन कानूनहरुको कार्यान्वयन, मूल्याङ्कन र अडिट भएमात्र संसद र जनताबीचको अन्तरसम्बन्धलाई घनिष्ट बनाउन सकिन्छ भन्ने विषय पुस्तिकामा समावेस भएको उहाँले बताउनुभयो।

कार्यक्रममा सांसद दिनानाथ शर्माले संसदबाट निर्माण भएका कानूनहरुको समिक्षा संसदीय समितिहरुले गर्नुपर्ने बताउनुभयो । उहाँले कानून बनाउनुभन्दा पहिले हाम्रा कानून कस्तो हुने भन्ने विषयमा छलफल भएजस्तै कानून निर्माण पछि कसरी कार्यान्वयनमा रहेको छ भन्ने विषयमा समेत छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादन भइसकेका ऐन नियमहरुको अडिट र मूल्याङ्कन आवश्यक रहेको बताउनुभयो ।

सांसद सुरेन्द्रराज पाण्डेले पैसाको कुरामा हरेक संस्थामा अडिट भएजस्तै कानूनको समेत अडिट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विधायन व्यवस्थापन समितिले प्रकाशित गरेको पुस्तिकामा समय समयमा ऐनको अडिट हुनुपर्छ, मूल्याङ्कन हुनुपर्छ भन्ने कुरा आएको उल्लेख गर्दै यो विषय महत्वपूर्ण भएको बताउनुभयो । उहाँले कानूनमा अडिट नभएको कारण समाजमा गम्भिर असर पार्न सक्नेमा नीति निर्माताहरु सचेत हुनुपर्ने बताउनुभयो ।

पूर्व सांसद खिमलाल देवकोटाले कानून निर्माताहरुको दायित्व के हुनुपर्छ भन्ने कुराको संकेत पुस्तिकाले गरेको बताउनुभयो । उहाँले कानून बनाएर मात्र नहुने र कानूनको निरन्तर निगरानी गर्ने तथा कानूनको पनि अडिट हुन्छ भन्ने कुराको आरम्भ हुनु सुखद भएको बताउनुभयो ।

नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले पुस्तिकाले कानून निर्माणको चरण मात्रै महत्वपूर्ण होइन भन्ने देखाएको बताउनुभयो । उहाँले कानून निर्माणपछि पनि हाम्रो दायित्व छ भन्ने कुराको उजागर पुस्तिकाले गरेको बताउनुभयो ।