एजेन्सी, ५ फागुन । इटालियन सिरि ‘ए’ मा युभेन्टस विजयी भएको छ । आइतबार राति भएको खेलमा रेलिगेसन जोनको ब्रेसियालाई २–० गोलले हराउँदै युभेन्टसले अग्रता कायम राखेको हो ।
पहिलो हाफमै १० खेलाडीमा झरेको ब्रासियाविरुद्ध घरेलु टोलीलाई जित दिलाउनका लागि पाउलो डिबाला र हुवान क्वाड्राडोले गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा ब्रेसियाका फरवार्ड फ्लोरियन आई रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो ।
त्यसैको फ्रिकिकमा पाउलो डिबालाले गोलमा परिणत गरे । ७५औैं मिनेटमा हुवान क्वाड्राडोले ब्लेइस माटुइडीको पासमा गोल गर्दै युभेन्टसको अग्रता लम्ब्याए ।
जितसँगै युभेन्टस ५७ अंक बनाउँदै शीर्ष स्थानमा फर्किएको छ । त्यसअघि इन्टरमिलानले लाजियोसँग पराजय भोग्दा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।