ललितपुर, ३ फागुन । ललितपुर जिल्लाकै उत्कृष्ट मध्यको एक प्रभात माध्यमिक विद्यालयले ५० औं वार्षिक उत्सव तथा अभिभावक दिवस अवसर पारेर विज्ञान तथा गणित प्रदर्शनी आयोजना गरेको छ । विद्यालयको प्रागणमा आयोजना गरिएको प्रर्दशनीमा उक्त विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले तयार गरेका सिर्जनात्मक सामग्रि प्रर्दशनीमा राखिएका थिए ।
१ सय ४५ भन्दा बढी स्टल रहेको प्रर्दशनीमा विद्यार्थीहरुले कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतारेको विद्यालयका विज्ञान शिक्षक एवं साइन्स टिचर एशोसिएशन अफ नेपालका केन्द्रीय उपाध्यक्ष जय प्रकाश श्रीवास्तवले जानकारी दिए ।
प्रदर्शनीमा हाइड्रोलिक डोजर, भ्याकुम क्लिनर, सोलर सिस्टम, चेन्ज अफ सिजन, बायो ग्यास प्रोडक्सन, भोल्कानो, सोलर सिस्टम, रिफ्लेक्सन अफ लाइट, म्याथ गेम, सेल स्ट्रक्चर, इन्भाइरोमेन्टल ब्यालेन्स, इफेक्स् अफ एयर पोलुसन, इलेक्ट्रिक बेल, वाटर इकोसिस्टम, ल्याण्ड इकोसिस्टम, साइन्स हाउस, एयर अकुपाइज् स्पेस, वाटर पम्प, अटोमेटिक गेट लगायतका सामग्रिको स्टल राखिएको थियो ।
उक्त सिर्जनात्मक सामग्रि विद्यार्थीहरुले स्व लगानीमा स्थानीय सामग्रि प्रयोग गरि बनाएका थिए । उक्त प्रर्दशनी हेर्न एक दर्जन भन्दा बढी विद्यालयका विद्यार्थी, अभिभावक एव जिज्ञासु आएका थिए ।
उक्त प्रर्दशनीको पूर्व विज्ञान मन्त्री गणेश साहले पनि अवलोकन गर्नु भएको थियो । प्रत्यक बर्ष बार्षिकोत्सवको अवसर पारेर केहि न केहि सिर्जनात्मक काम गर्ने सन्दर्भमा विज्ञान गणित प्रर्दशनी आयोजना गरिएको प्रधानाध्यापक राजेन्द्र प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रधानाध्यापक तिमल्सिनाले विद्यार्थीहरुको सक्रियता बढाउन, विद्यार्थीहरुलाई सिर्जनशिल बनाउन र पाठ्यक्रममा सिकेको ज्ञान ब्यवहारिक रुपमा उतार्न यस्तो प्रर्दशनी उपयोगी हुने ठानेर विद्यार्थीहरुलाई प्रोत्साहित गरिएको जानकारी दिए ।
प्रभात माध्यमिक विद्यालयले शनिवार ५० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवका अवसरमा बाल सहित्य महोत्सको समेत आयोजना गरिएको थियो ।





