काँकरभिट्टामा स्थापना गरिएको 'हेल्थ डेस्क' नाम मात्रको | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

काँकरभिट्टामा स्थापना गरिएको ‘हेल्थ डेस्क’ नाम मात्रको

झापा, २ फागुन । झापाको मेची नगरपालिकाले कोरोना भाईरस भित्रिन नदिनका लागि पूर्वी नाका काँकरभिट्टामा स्थापना गरिएको हेल्थ डेस्क नाम मात्रैको बनेको छ ।

पैदल मार्ग भएर सबैभन्दा धेरै विदेशी नागरिक भित्रिने पूर्वी नाका कारकरभिट्टामा स्थापना गरिएको कोरोना भाइरस परामर्श कक्ष, चिकित्सक तथा उपकरण उपलब्ध नहुँदा हेल्थ डेस्क नाम मात्रको बनेको हो ।

त्यहाँ न चिकित्सक छन् न त्यहाँ बस्ने स्वास्थ्यकर्मीलाई कुनै उपकरण उपलब्ध गराइएको छ । कोरोना भाइरसको संक्रमण नेपाल भित्रन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा स्थापीत परामर्श कक्षमा खटाइएका अनमी हात्ती पाइलेको औषधि खुवाउन हिँडेसंगै परामर्श केन्द्र नाम मात्रैको बनेको हो ।

मेचीनगरपालिकाको स्वास्थ्य शाखाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुईजना प्राविधिकका भरमा उक्त सहायता कक्ष सञ्चालन गरिएको छ । तर, पूर्वी नाका काँकरभिट्टामा भारततिरबाट आउने प्रायः सबै मानिसहरु त्यस कक्षमा नपसी आफ्नो बाटो हिँड्ने गरेका छन् ।

अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्ड समेत काँकरभिट्टामा भएपनि दुवै कार्यालयसंग समन्वय नभएको बताइएको छ ।

सरकारले सन् २०२०लाई भ्रमण वर्ष घोषणा गरेसंगै यो नाका भएर नेपाल भित्रने पर्यटकको संख्या सन्तोषजनक रहेपनि अझैं प्रचारप्रसार अभाव रहेको पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख वाशुदेव ढकाल बताउनुहुन्छ ।

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म एक हजार ३ सय ५० जनाले ज्यान गुमाइसकेका छन् भने विरामीको संख्या झण्डै ६० हजार पुगेको छ ।

चिनमा कोरोना भाइरस संक्रमणका कारण दिन प्रतिदिन मानिसको मृत्यु हुनेको संख्या बढेसंगै नेपालमा सचेतना अपनाउनु आफैमा राम्रो भएपनि तयारी नपुग्नु चाँही सचेतना कक्षा सञ्चालन गर्नु देखावटीका लागि मात्रै भएको देखिन्छ।