सिन्धुपाल्चोक, २५ माघ । सिन्धुपाल्चोक तिपेनीको खाल्डे प्रहरी चौकीमा अज्ञात समूहले आक्रमण गरेको छ । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमामा रहेको चौकीमा मोटरसाइकलमा आएका १०-१२ जनाको समूहले आक्रमण गरेको हो ।
आक्रमणमा प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो । घाइतेमध्ये झालाई उपचारको लागि काठमाडौं ल्याइएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
चौकीमा आक्रमण गर्ने सुनखानीका सोम थिङ लाई प्रक्राउ गरिएको र बाँकीको खोजी भैरहेको बताइएको छ । प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान सुरू गरेको प्रहरीले बताएको छ ।