एजेन्सी, २० माघ । कोरोना भाइरसले आक्रान्त बनेको चीनको हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको छ । बर्ड फ्लूको प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको हो ।
जुन कोरोना भाइरसको संक्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ । स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन् । चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयले हुनानमा देखिएको बर्ड फ्लुको संक्रमण अहिलेसम्म मानिसमा भने नदेखिएको बताइएको छ ।
चीनले कोरोना भाइरसको संक्रमणका कारण ठूलो जनशक्ति लगाएर यसलाई नियन्त्रण गर्न लागिपरेको समयमा हुनानमा देखिएको बर्ड फ्लुले चीनलाई दोहोरो समस्या परेको छ ।
चीनमा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको छ भने यस संक्रमणले चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । चीनले कोरोना भाइरसको संक्रमण बढी देखिएको हुबेई प्रान्तका केही शहरहरूलाई अन्य भूगोलसँग अलग राखेर रोकथाम, नियन्त्रण तथा उपचार प्रयासहरूलाई जारी राखेको छ । यसका कारण त्यहाँका करिब पाँच करोड ६० लाख व्यक्तिको आवागमन रोकिएको छ ।