काठमाडौं, १८ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताउनुभएको हो । पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षीत रहेको बताउनुभयो ।
बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएकोले चिनियाँ अधिकारीहरुले आफुहरुलाई विश्वस्त बनाएको उहाँले बताउनुभयो । नेपाल आउने पर्यटक र आउन चाहाने पर्यटकहरुलाई नेपाल सुरक्षीत र ठिक छ भन्ने सन्देश प्रवाह गर्न पनि उहाँले सबैमा आग्रह गर्नुभएको छ ।
विभिन्न पर्यटकिय स्थलहरुमा अझै प्रचार सामग्री अपुग भएको उल्लेख गर्दै भट्टराईले ठमेल, लुम्बिनी लगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँ भाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको बताउनुभयो ।