दुई वर्षमा असाधारण उपलब्धि : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

दुई वर्षमा असाधारण उपलब्धि : प्रधानमन्त्री

pri minister kp oli

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले असाधारण उपलब्धि हासिल गरेको दाबी गरेका छन्। पार्टी केन्द्रीय समिति बैठक बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै ओलीले सरकारले हासिल गरेका उपलब्धिका तथ्य पेस गरेका हुन्।

ओलीले २०७४ फागुन ३ मा झन्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका सम्हालेका थिए। दुई घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको कम्युनिस्ट सरकारले कुनै पनि सूचकांकमा नकारात्मक मानक प्राप्त नगरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताए।

‘कुनै पनि सूचकले नेपाल नेगेटिभ (ऋणात्मक) छैन। अझ कम्युनिस्ट सरकारले कुनै नेगेटिभ मानक राखेको छैन। विगतबाट पछाडि पर्‍यो भन्ने केहीमा छैन, अगाडि बढेकै सूचकांक छन,’ प्रधानमन्त्री ओलीले भने।

उनले विश्व बैंकको ‘डुइङ बिजनेस’ सूचकांकमा नेपाल गत वर्षको तुलनामा १६ औं स्थान माथि उक्लिएको उल्लेख गरे। गत वर्ष ११०औं स्थानमा रहेको नेपाल अहिले १६आंै स्थान उक्लिएर ९४ औं स्थान कायम राख्न सफल भएको थियो। त्यसैगरी राष्ट्रसंघको मानव विकास सूचकांकमा पनि नेपाल १४९ स्थानबाट दुई स्थान सुधार गरेर अहिले १४७ स्थानमा उक्लिएको प्रधानमन्त्रीले जानकारी दिए।

विश्व भोकमरीको सूचकांकमा अहिले नेपाल ७३ औं स्थानमा रहेको प्रधानमन्त्रीले बताए। ‘यो उल्लेख्य सुधार हो। हामीले सडक–बालबालिकाको अन्त्य गरेका छौं। कोही खान नपाएर भोकै मर्नपर्ने अवस्था अन्त्य गरेका छौं। यो विश्वका लागि खुसीको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने।

उनले शान्तिसुरक्षामा नेपाल चीन, भारत र बंगलादेशभन्दा राम्रो स्थानमा रहेको पनि बताए। ‘ग्लोबल पिस इन्डेक्समा नेपालले यस वर्ष १२औं स्थान सुधार गरेको छ। एक सय ६५ देशमध्ये नेपाल ७६औं स्थानमा उक्लिएको छ। upaladhi

बंगलादेश १०१, चीन ११०, भारत १४१, पाकिस्तान १५४औं स्थानमा छ। यो हाम्रो स्थिति धेरै राम्रो हो। हामी धेरै अगाडि आएका छौं,’ प्रधानमन्त्रीले भने, ‘अझ यसलाई हामी निकट भविष्यमा राम्रो अवस्थामा पुर्‍याउन सक्छौं। केही टावर पड्काउने, चन्दा लिने, दुःख दिने नाउँमा भइरहेका गतिविधि नियन्त्रण गर्दैं गइरहेका छौं।’

ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने, पारदर्शिता कायम गर्ने र विधिको शासन स्थापनामा पनि नेपालले उल्लेख्य सुधार गरेको विश्वका विभिन्न सूचकांक प्रस्तुत गरे। उनले भने, ‘विधिको शासन स्थापनामा नेपाल दुई स्थान माथि उक्लिएको छ। हामी क्रमशः माथि जाँदै छौं। भ्रष्टाचार र पारदर्शितामा ११औं स्थानमा माथि उक्लिएका छौं।’

प्रधानमन्त्री ओलीले खुसी सूचकांकमा तीन तह माथि उक्लिँदै ११औं स्थानमा रहेको, आर्थिक–सामाजिक कार्यसम्पादन र संस्थागत मूल्यांकनसम्बन्धी विश्व सूचकांकमा एक तह माथि उक्लिएको र विश्व प्रतिस्पर्धात्मक सूचकमा पनि एक स्थान माथि उक्लिएको जानकारी दिए। उनले लैंगिक समानता सूचकमा पनि नेपालले गत वर्षभन्दा सुधार गरेको बताए।

बेलायतबाट प्रकाशित हुने चर्चित साप्ताहिक पत्रिका ‘द इकोनोमिस्ट’ लाई समेत उद्धृत गर्दै प्रधानमन्त्री ओलीले नेपाल उच्च आर्थिक वृद्धि गर्ने मुलुकमा रहेको, लगानी सम्मेलनमार्फत वैदेशिक लगानी प्रतिबद्धता १३२.५ प्रतिशत बढेको पनि प्रधानमन्त्री ओलीले बताए। व्यापार घाटा ६.३ प्रतिशतले घटेको पनि प्रधानमन्त्रीको भनाइ थियो।

आफ्नो सम्बोधनका क्रममा उनले सरकारले कामको नतिजाबाटै प्रभावकारिता देखाइरहेको बताए। लोकतन्त्रप्रति सरकार र पार्टीको निष्ठामा अनावश्यक प्रश्न उठाइएको भन्दै ओलीले कम्युनिस्ट सरकार र पार्टीसँगको वैचारिक पूर्वाग्रहका आधारमा त्यस्तो प्रचार गरिएको बताए। उनले प्रेस स्वतन्त्रतामा नेकपा सरकारका विषयमा कुरा उठाउनु निरर्थक भएको पनि बताए।

प्रधानमन्त्रीले आगामी चुनावमा जाने बेलासम्म सरकारले गरेका कामको जनताले नै अनुभूति गर्न पाउने दाबी गरे। पार्टीभित्र आफ्नो आलोचना बढ्न सक्नेतर्फ संकेत गर्दै उनले त्यसलाई पनि आफूले पचाउने संकेत गरे। उनले भने, ‘मेरो सन्दर्भमा कुनै आलोचना–टिप्पणी छ भने गरे हुन्छ, सच्याउन सकिन्छ। तर त्यस प्रकारको वैयक्तिक असन्तुष्टिले आन्दोलनलाई फाइदा पुग्दैन।’

आजको अन्नपूर्ण पोष्टमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);