काठमाडौं, २६ पुस । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य र न्यून रहेको बताउनुभएको छ ।
‘नेपालमा महिला आन्दोलन’ पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै डा. तुम्बाहाङफेले देशमा लोकतन्त्र आएपनि सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य र न्यून रहेको बताउनुभएको हो ।
विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाहरुको सहभागिता भएपनि महिलाहरुको अवस्था परिवर्तन हुन नसकेको उहाँले बताउनुभयो । ‘महिलाहरुका लागि जति आन्दोलन भएपनि सत्तामा महिलाको संख्या, उपस्थिति र सहभागिता शून्य र न्यून दुबै छ । विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाहरुको सहभागिता छ । तर सत्ताको माथिल्लो तहमा पुग्ने वित्तिकै महिलाहरुको अवस्थामा परिवर्तन हुन्छ भन्ने कुरा होइन रहेछ भन्ने नेपालमा पुष्टि भएको छ’, उहाँले भन्नुभयो ।
समयलाई व्यवस्थापन गर्न सके असम्भव भन्ने कुनै कुरा नहुने भनेर आफुले पुष्टि गरेको बताउँदै उहाँले पितृसत्तात्मक सोचको शिकार महिला मात्रै नभएर पुरुष पनि भएको उल्लेख गर्नुभयो । बलियो बनेर बसेको पितृसत्तात्क सोचलाई उन्मुलन गर्न महिलाहरु एकजुट भएर सशक्त रुपमा अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसकी सांसद पुष्पा भूसालले ५० प्रतिशत भन्दा बढी जनसंख्या र मतदाता भएका महिलाहरुले अधिकारका लागि आन्दोलन गरेको भएपनि राजनीतिक न्यान नमागेको बताउनुभयो ।
महिलाहरु अधिकार सम्पन्न दावेदार भएका कारणले पनि अधिकार मागेर नभएर दावी गर्ने समय आएको र यसको नेतृत्व उपसभामुखले गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
उपसभामुख डा. तुम्बाहाङ्फेद्वारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तकमाथि परिचर्चा कार्यक्रम शनिबार राजधानीमा आयोजन गरिएको थियो ।