आइतबार पनि प्रतिनिधि सभाको बैठक बस्ने वा नबस्ने अझै अन्योल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आइतबार पनि प्रतिनिधि सभाको बैठक बस्ने वा नबस्ने अझै अन्योल

काठमाडौं, २६ पुस । प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्ने कार्यक्रम छ । बैठक बस्छ कि बस्दैन भन्ने अझै अन्यौल छ । बैठक बसेमा सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने छ ।

सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवार तय नगर्दा बैठक बस्छ या बस्दैन भन्नेमा अझै अन्यौल छ । बैठक बस्ने नबस्ने अन्यौलकाबीच नेकपा सचिवालयको आजको बैठकले उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको छ ।

सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विवाद अझै कायमै छ । उम्मेदवारबारे नेकपाको निर्णय नहुँदा प्रतिनिधि सभाको बैठक बन्धक बन्दै आएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठक पुस ४ गते बसेको थियो । पुस ११ गते र १६ गतेको बैठक सूचना टाँसेर स्थगित भएको थियो । दोश्रो बैठक पुस २७ गतेका लागि तय भएको छ । सभामुख कसलाई बनाउने भन्ने टुंगो नलाग्दा आइतबार बस्ने भनिएको बैठक पनि बस्ने वा नबस्नेमा अन्यौल नै छ ।

सभामुख चयनमा सकस
सभामुख चयनमा सकसमा रहेको नेकपाको शीर्ष तहमा पटक पटक बैठक बसे पनि निष्कर्ष निस्कन सकेको छैन । यही सकसकाबीच शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुखमा नेकपाले नै उम्मेदवारी दिने निर्णय गरेको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने नाम सार्वजनिक गरेको छैन ।

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई भने राजनीनामा दिन लगाउने सचिवालय बैठकले निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शीर्ष तहको पटक पटकको बैठकपछि नेकपा यो निर्णयमा पुगेको हो ।

शुक्रबार पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच यही विषयमा घण्टौ छलफल भएको थियो । उपसभामुख तुम्बाहाम्फेलाई पनि बोलाएर दुई अध्यक्षले छलफल गर्नु भएको थियो । यद्यपी छलफलमा के निष्कर्ष निस्कियो त्यो भने बाहिर सार्वजनिक गरिएको छैन ।

शीर्ष तहबाट राजीनामा दिन यस अघि पनि पटक पटक उपसभामुखलाई दवाव दिइँदै आएको थियो । उपसभामुखले आपूm नै सभामुखको दावेदार रहेको प्रतिक्रिया दिंदै आउनु भएको थियो ।

नेकपा सचिवालयले शनिवार गरेको निर्णयबारे उपसभामुखले अनभिज्ञता जनाउनु भएको छ । तर उहाँले घुमाउरो भाषामा महिलालाई सत्ता र शासनमा पुग्नेबेला नेतृत्वले रोक्ने गरेको गुनासो गर्नु भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेतृत्वमा पितृसत्तात्मक सोच हावी हुँदा यस्तो अवस्था आएको बताउनु भएको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पदमुक्त भएपछि सभामुख पद तीन महिनादेखि रिक्त छ । यो रिक्तता माथि सत्तारुढ दल भित्र ठूलै राजनीतिक दाउपेच भइरहेको छ ।

पूर्व एमाले पक्षधरलाई सभामुख बनाउने कि पूर्व माओवादी पक्षधरलाई सभामुख बनाउने भन्ने राजनीतिक दाउपेचमा सत्तारुढ दलका नेताहरु देखिन्छन् । सभामुख पद नपाए सत्ता समीकरणमा पूर्व माओवादी राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष लगायत महत्वपूर्ण संवैधानिक पदहरुबाट बाहिरिने छ ।

सबै संवैधानिक पदमा पूर्व एमाले पक्षधरको मात्रै हावी हुनेछ । त्यसकारण बरु संसद लामो समय बन्धक नै बनोस् तर सभामुख पद नछोड्ने भन्ने पूर्व माओवादी पक्षको अडान हुँदा नेकपालाई सभामुख चयनमा ठूलै सकस पर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);