मिडियाहरु चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिएः सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मिडियाहरु चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिएः सभामुख घिमिरे

काठमाडौं, १९ फागुन । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ । शुक्रवार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढीरहेको भएपनि सञ्चारमाध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको बताउनु भयो । उहाँले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शुन्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाएपनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको बताउनु भयो ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको बताउनु भयो । उहाँले संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरुको उपस्थिति नरहेको बताउनु भयो । सभामुख घिमिरेले संसदले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको र त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बताउनु भयो । उहाँले सञ्चारमाध्यमहरुले संसदको विषयवस्तुलाई महत्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्तै बढी ध्यान दिने गरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसदभित्र पनि महिलाहरुको सहभागिता राम्रै छ । सक्षमता पनि छ, सक्रियता पनि छ । सहभागिता पनि छ । तर जुन किसिमको महिलाहरुको सहभागिता र सक्रियता छ, त्यो ढंगको मिडियाहरुले बाहिर प्रचार गर्न सकेको छैन । किनभने पुरुषहरु यति जना बोले, महिलाहरु यति जना बोले भन्ने ढंगकै हेर्ने हो भनेपनि म सभामुख भएर आएपछिका केही बैठकहरुमा मात्रै पनि उहाँहरुको सहभागिता चाहे शुन्य समयमा होस् वा विशेष समयमा होस् उहाँहरुको सहभागिता राम्रो छ । तर त्यो खालको प्रचारप्रसारहरु छैन । अर्कोतिर महिलासँग सक्रियतालाई अघि बढाउनका लागि विभिन्न माध्यम र तरिकाहरु अपनाउँदै अहिले सचिवालयले पनि महिला संसदमा उनीहरुको अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी परे बनाउने र नभएपनि उनीहरुलाई ओरेन्टेसनहरु दिने र उहाँहरुलाई मिडियामा फ्रेण्डली बनाउन के सहयोग गर्नुपर्छ ? भनेर हामीले योजना बनाएका छौँ । मिडियाहरुको आकर्षण अहिले खास खास नेताहरु बोल्ने दिन छ भने मिडियाहरुको उपस्थिति देखिन्छ । नभए करिव शुन्य शुन्य हुन्छ । तर सक्रियता कम छ । महिलाहरुको सहभागिता कम छ । महिलाहरुको सहभागिता र सक्रियता बढाउनका लागि हामी काम गर्नेछौँ । अहिले मिडियाहरुले कन्टेनमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छु ।’

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने बताउनु भयो । उहाँले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताउनु भयो । उहाँले संसद सु–सञ्चालन गर्नेकुरामा आफू स्पष्ट रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);