पोखरा, १८ पुस । अहिले सुख्खा याम चलिरहेको छ । तर पोखराका महानगरपालिका–१९ गैरीखोरका स्थानीयहरु भने वर्षाको समय सम्झेर सुख्खायाममा पनि त्रसित छन् । गैरीखोरमा ढलनिकासको व्यवस्थापन हुन नसक्दा हरेक वर्षामा सामान्य पानी पर्दापनि माथिल्लो बस्तीहरुबाट आउने बाढीले प्रभावित गरेको स्थानीयहरुको भनाई छ ।
पोखरा महानगरपालिका–१९ को गैरीखोरको बस्ती हरेक बर्षा याममा डुवानको जोखिममा पर्दै आएको छ । २६ बर्ष अघि बसाइएको यस बस्तीमा सामान्य बर्षामा पनि माथिल्लो भेगबाट उर्लिने भेलले बस्तीलाई डुवानको जोखिममा पारेको छ । ढल निकास व्यवस्थित नहुँदा यहाँका स्थानीयहरु वर्षामा बाढीको त्रासमा बाँच्दै आएका छन् ।
वर्षाको समयमा बालबालिकालाई विद्यालय पठाउन समेत असुरक्षित हुने स्थानीयको पीडा छ । ढल निकास व्यवस्थापन गरी समस्या समाधानका लागि स्थानीय सरकार तथा जनप्रतिनिधिहरुलाई पटकपटक गुहार्दा पनि समाधान नभएको स्थानीयको गुनासो छ ।
निर्वाचनको समयमा ठुलाठुला प्रतिवद्धता जनाउनेहरुले आफुहरुको समस्यालाई सम्बोधन नगरेको गैरीखोरका वासिन्दाको भनाई छ । बाढीको समस्या समाधानका लागि स्थानीय सरकार मार्फत प्रदेश मुख्यमन्त्रीलाई ज्ञापनपत्र नै बुझाए पनि बेवास्ता गरेको गैरीखोर टोल विकास समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङको भनाई छ ।
यता, पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष शोभा मोहन पौडेलले बस्तीमा हुने डुवानको समस्या समाधानका लागि ढल निकासका लागि यस आर्थिक बर्षमा ४० लाख बजेट छुट्याइएको जानकारी दिनुभयो । हालका लागि डिपिआर बनाएर प्रदेशमा रिपोर्ट बुझाउने तयारीमा भएपनि यसको समाधानका लागि संघीय सरकारसंगै समन्वय गरी परियोजनाहरु ल्याइने उहाँको भनाई छ ।
यसरी वस्ती नै डुवानको जोखिममा परे पनि स्थानीयहरुले आश्वासन बाहेक केही पाएका छैनन् । त्यसैले गैरीखोरको वासिन्दाहरु बाढीको त्रासमा बस्न बाध्य छन् ।




