काठमाडौं, १७ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब सशस्त्र प्रहरीको एपीएफले पहिलो जित दर्ता गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा विहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६३ औं मिनेटमा एपीएफका आशिष लामाले अग्रता दिलाएका थिए । प्रविणकुमार श्रेष्ठको पासलाई आशिष लामाले गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा आशिष लामाले नै टिमका लागि दोस्रो गोल गरेपछि एपिएफले जारी लिगमा पहिलो जित दर्ता गरेको हो । सरस्वतीका लागि एकमात्र गोल विनोद केसीले गरेका थिए ।
जारी लिगमा एक खेलमात्रै बराबरी खेलेको एपीएफले जितसँगै तालिकामा चार अंक बनाएको छ । यस्तै सरस्वतीले अहिलेसम्म जितको स्वाद चाख्न नपाएपनि बिहिवार भने पहिलो गोल गरेको छ ।




