काठमाडौं, ११ पुस । नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ । कांग्रेसको शुक्रवार बसेको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशनको मिती घोषणा गरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने शुक्रवारको बैठक पनि बहिष्कार गरेका थिए । पौडेल पक्षको बहिष्कारकाबीच सभापति शेरबहादुर देउवा पक्षले कार्यतालिका पारित गरेको हो ।
यसैगरी बैठकले पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्याउने र तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले नेबिसंघको बारेमा निर्णय लिने जिम्मा सभापति देउवालाई दिएको छ ।
गत मंसिर २६ गतेदेखि सुरु भएको पार्टीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै पटक पटक बैठकमा अनुपस्थित रहेपछि सभापति देउवाले शुक्रबारको बैठकबाट बहुमतको आधारमा प्रस्तावित सबै एजेण्डा पास गर्दै पार्टीको एक वर्ष म्याद थप गर्नुभएको हो ।
महाधिवेशनको कार्यतालिकासहित विभाग र पार्टीका भातृसंस्थाको विषयमा सहमति गरेर बैठकको सहज सञ्चालनका लागि काँग्रेसमा वार्ता टोली बनाएर दुई सातादेखि निरन्तर छलफल हुँदै आएको थियो ।
तर दुई सातासम्म पनि सहमतिको मिलन विन्दुमा पुग्न नसकेपछि देउवाले बहुमतका आधारमा निर्णय लिनुभएको हो । पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भन्दै बैठकमा अनुपस्थित भएको थियो ।




