दाङको बंगलाचुली गाउँपालिकामा धेरैजसाे वडा कार्यालयहरु सचिव विहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाङको बंगलाचुली गाउँपालिकामा धेरैजसाे वडा कार्यालयहरु सचिव विहीन

विकास डाँगी
दाङ, ८ पुस । देश संघीयतामा गएसंगै स्थानीय तहमा जनप्रतिनिधि आएको साढे २ बर्ष पुग्न लाग्यो । तर पनि अझै धेरै स्थानीय तहहरुमा पर्याप्त कर्मचारी पुग्न सकेका छैनन् जसले गर्दा सेवाग्राहीले सुलभ सेवा पाउनबाट बन्चित भएका छन् । दाङको बंगलाचुली गाउँपालिकामा पनि अधिकांस वडाहरुमा सचिवको अभावले सेवाग्राहीहरुले सरल सेवा पाउन सकेका छैनन् ।

दाङका प्राय गाउँपालिकाका धेरै वडा कार्यालयहरु सचिव विहीन छन् । दाङको बबई, दंगीशरण, गढवा, राजपुर गाउँपालिकाका केही वडाहरु सचिव विहीन छन् भने बंगालचुली गाउँपालिकाका आठै वटा वडा सचिवविहीन छन् ।

वडा कार्यालय सचिव विहीन हुँदा सेवाग्राहीले नियमित र चुस्त सेवा पाउन सकेका छैनन् । कर्मचारी अभावका कारण एउटै कामका लागि पनि धेरै धाइरहनु परेको सेवाग्राहीको गुनासो छ ।

वडा सचिव नहुँदा अन्य कर्मचारीले वडा सचिवको भुमिका निर्वाह गरीरहेका छन् । विगतमा साविक ४ गाविसका सचिवहरुले ८ वटा वडा कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

तर कर्मचारी समायोजनका कारण अहिले उनीहरुको पनि अन्यत्र सरुवा भएकाले वडा कार्यालयहरु सचिव बिहीन भएको गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वलीले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्वर १ र २ मा महिला शाखा संयोजक पार्वती रानाले संयुक्त वडा सचिवको काम गर्दै आउनुभएको छ । त्यसैगरी वडा नम्वर ३ र ४ मा सहायक कम्प्युटर अपरेटर अनु महराले वडा नम्वर ५ र ६ मा खानेपानी प्राविधिक सहायक भरत डाँगी र वडा नम्वर ७ र ८ मा पशु शाखा कार्यालयका कर्मचारी माधव भट्टराईले संयुक्त वडा सचिवको काम गर्दै आउनुभएको छ ।

वडा सचिव नभएको अवस्थामा अन्य कर्मचारीले सचिवको भुमिका निर्वाह गरेपनि प्रशासन सेवा सम्वन्धि जानकार नहँुदा सेवाग्राहीलाई समस्या परेको छ ।

वडा कार्यालय सचिब बिहीन हुँदा गाउँपालिकाबाट प्रदान गरिने दैनिक प्रशासनीक कार्यमा लामोसमयदेखि प्रभाब परिरहेको नागरिकहरुको गुनासो छ । तत्काल कर्मचारीको ब्यबस्था गरिदिन पनि सम्बन्धित पक्षसँग उनीहरुले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);