एजेन्सी, ६ पुस । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले आफ्नो देशमा भइरहेको विरोध प्रदर्शनलाई मन्थर गर्न पाकिस्तानमाथि सैन्य कारबाही गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।
प्रधानमन्त्री खानले ट्वीट गर्दै भारतले विरोध प्रदर्शन मन्थर गर्न पाकिस्तानमाथि सैन्य कारबाही गर्न सक्ने आशंका व्यक्त गरेका हुन् । भारतीय सेना प्रमुख जनरल विपिन रावतको भारत पाकिस्तान सीमाको अवस्था कुनैपनि बेला बदलिनसक्ने भनाइले आफ्नो आशंका पुष्टि हुने प्रधानमन्त्री खानको दावी छ ।
भारतीय सेनाप्रमुख रावतले पाकिस्तानसंगको सीमामा हुन सक्ने जुनसुकै अवस्थाका लागि भारतीय सेना तयार भएको बताएका थिए ।
खानले भारतले हिन्दू राष्ट्रवादको भावना बहकाएर आन्तरिक विरोधलाई मन्थर गर्न कुनै कारबाही गरेमा पाकिस्तानका सामु त्यसको जवाफ दिनुभन्दा अरू विकल्प नरहने बताएका स्पष्ट गरेका छन् ।
खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले भारतलाई हिन्दू राष्ट्र बनाउन चाहेको आरोप पनि लगाएका छन् ।