एजेन्सी, ५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुुकमा जारी विरोध प्रदर्शन र सुरक्षा व्यवस्थाका विषयमा जानकारी लिन मन्त्रीहरुसंग छलफल गरेका छन् ।
सरकारले नयाँ नागरिकता कानुनमा मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै चर्किएको प्रदर्शनमा १४ जनाको मृत्यु भएपछि प्रधानमन्त्री मोदीले शनिबार मन्त्रीहरुसंग छलफल गरेको भारतीय संचार माध्यमहरुले बताएका छन् ।
प्रहरी धरपकडमा सयौंको संख्यामा प्रदर्शनकारीहरु घाइते भएका छन् । भारतको नयाँदिल्ली, उत्तरप्रदेशका मुजफ्फरपुर, मेरठ, गोरखपुर, बनारस लगायतका ठाउँमा प्रदर्शन चर्किएको छ ।
सरकारले प्रदर्शन गर्न रोक लगाए पनि नागरिकको विरोध प्रदर्शन कायमै छ । प्रहरीको निषेधाज्ञा तोड्दै हजारौ नागरिक सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् । राजधानी दिल्लीमा विद्यालय र कलेज बन्द गरी विद्यार्थीहरुले समेत प्रदर्शन जारी राखेका छन् ।




