काठमाडौं, ४ पुस । राष्ट्रियसभा सदस्य वृखेषचन्द्र लालले विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सत्तापक्ष र विपक्षीदलबीच सहकार्य हुनु कुनै आश्चर्य नभएको बताउनुभएको छ ।
राष्ट्रियसभाको पाँचौ अधिवेशनमा बोल्दै उहाँले निर्वाचन र पार्टीको एजेण्डा फरक कुरा भएकाले राम्रो कुराका लागि सत्तापक्ष र विपक्षी दलबीच सहकार्य हुनु कुनै आश्चर्यको कुरा नभएको बताउनुभएको हो ।
संघीयताको कार्यान्वयन, राष्ट्रिय सहमति र समाधान तथा विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सहकार्य हुनु नै राजनीतिक आचरण भएको उहाँले उल्लेख गर्नुभयो ।
यसअघि राष्ट्रिसभा सदस्य सुरेन्द्रराज पाण्डेले सत्तापक्ष र विपक्षी दल निर्वाचनमा गठबन्धन बनाएर जानु राजनीतिक चरित्रभन्दा बाहिरको कुरा भएको बताउनुभएको थियो । राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय जनतापार्टीसँग चुनावी गठबन्धन गरेको छ ।
एक फरक प्रशंगमा लालले राज्यशक्तिको बाँडफाँड अनुसार शासन प्रणालीको कार्यान्वयनले मात्र सुशासनको स्थापना हुने बताउँदै उहाँले समावेशी चरित्रका आधारमा विविधपूर्ण राष्ट्रियताको जग मजबुद हुने कुरामा कुनै विवाद नरहेको लालले बताउनुभयो ।
संविधान संशोधनको मुद्दा अहिले पनि आफ्नो दलले जिवित नै राखेको स्मरण गराउँदै लालले प्रदेश र स्थानीय तहको तर्फबाट संघीय सरकारमाथि निगरानी गर्नु सदनको मुख्य जिम्मेवारी भएको बताउनुभयो । उहाँ राष्ट्रिय जनता पार्टी (राजपा) बाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।





