गठबन्धन - ओली फुटाउने र देउवा–प्रचण्ड झन मजबुत बनाउने प्रयासमा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

गठबन्धन – ओली फुटाउने र देउवा–प्रचण्ड झन मजबुत बनाउने प्रयासमा

KP-oli-Prachanda-Shre-br-deuwa

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको विवरण सार्वजनिक भइरहेका छन् । ११ जेठमा ओलीले गठबन्धनका एउटा घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने अहिल्यै एमाले–जसपा सहकार्य गर्नेबारे कुनै प्रगति नभएको बताउँछन् । ‘राजनीतिक दलका नेताहरूबीच छलफल नहुनु नराम्रो होइन’, उनले भने, ‘तर, राजनीतिक एजेन्डाकेन्द्रित छलफल भएको छैन । सहकार्य गर्नेबारे निष्कर्ष निस्किसकेको अवस्था पनि छैन ।’ यादव गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग असन्तुष्ट छन् । असन्तुष्ट रहेकै बेला अध्यक्ष ओलीले यादवसँग भेटवार्ता गर्नुलाई गठबन्धनका अन्य घटकहरूले शंकाको रूपमा हेरेका थिए ।

तर, यादव आफैं सहभागी भएको गठबन्धनको सोमबारको बैठकले जिल्ला समन्वय समिति (जिसस) र गठन गर्न बाँकी रहेका गाउँ/नगर कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गर्न प्रदेशहरूलाई निर्देशन दिएको छ । निर्देशन दिने यो निर्णयलाई कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले गठबन्धनलाई अझ मजबुत बनाउन चाहेको रूपमा कतिपयले अथ्र्याएका छन् ।

देउवा निकट कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले गठबन्धन दलहरू शंकाबीच आगामी प्रदेश र सङ्‍घीय निर्वाचनमा सँगै हुने बताए । यद्यपि, एमालेले गठबन्धन पहिलेदेखि फुटाउन खोजेको र फुटाउने प्रयास जारी राख्नुलाई अस्वभाविक मान्‍न नहुने उनको धारणा छ ।  ‘स्थानीय तह निर्वाचनमा छिटपुट ठाउँमा बाहेक राम्रो नजिता आयो । अब गाउँ//नगर र जिसस निर्वाचनमा पनि तालमेल गर्ने क्रममा छौँ’, आङ्देम्बेले भने, ‘हामी अब प्रदेश र सङ्‍घीय निर्वाचनमा तालमेल गर्छौं ।’ उनले ओली र यादवको भेटलाई सामान्य रूपमा लिनुपर्ने बताए ।

‘निर्वाचनले एमाले कमजोर भएको छ । यस्तो अवस्थामा सहकार्यका लागि आग्रह गर्ने त भइहाल्छ नि । कांग्रेस, एमालेकै हालतमा भए कांग्रेसले पनि अन्य दलसँग सहकार्यको प्रस्ताव राख्नसक्थ्यो । त्यही भएर ओलीजी र उपेन्द्रजीको भेट ठूलो कुरा होइन’, उनले भने, ‘यदि अगल भए त घाटा जसपलाई नै हुन्छ ।’ गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने एमाले–जसपा सहकार्य सम्भव नभएको बताएका छन् । उनका अनुसार गठबन्धन आगामी प्रदेश र सङ्‍घीय निर्वाचनसम्मै जान्छ ।  तर, यदि, जसपा अलग भए, सत्ता गठबन्धन भने नढल्ने बताए ।

‘संविधान, लोकतन्त्र र गणतन्त्रजस्ता राजनीतिक उपलब्धि रक्षा गर्न यो गठबन्धन बनेको हो’, गजुरेलले भने, ‘उपेन्द्रजीको पार्टी अलग हुँदैन । हिजो भएको निर्णयले पनि त्यसको पुष्टि गर्छ । तर, यदि अलग भयो भने पनि सत्ता गठबन्धन भने ढल्दैन ।’ यादव असन्तुष्ट हुनुको एउटा कारण, विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका छोरा अमरेन्द्र पराजित हुनु हो । अर्को कारण, मधेस प्रदेशको जनकपुर उपमहानगरपालिकामा पनि उनको पार्टीका उम्मेदवार लालकिशोर साह पराजित हुनु हो ।

अध्यक्ष यादव यी दुई स्थानीय तहको परिणामलाई लिएर असन्तुष्ट भएका बेला एमाले अध्यक्ष ओली भेट्न गएका थिए । जसपा उपाध्यक्ष रकम चेम्जोङले ओलीले आगामी निर्वाचनहरूमा सहकार्यको प्रस्ताव अध्यक्ष यादवसँग राखेको बताए । यद्यपि, यादव असहमत भएको र दुवै तहको निर्वाचनमा गठबन्धन दलहरूबीच नै तालमेल हुने उनको भनाइ छ ।  ‘निर्वाचनबाट कमजोर बनेको छ । बालुवाटारदेखि बालकोट पुग्नुपरेको छ । यस्तो अवस्थामा सहकार्य गरौँ भनेका हुन्’, उनले भने, तर, सहकार्य हुँदैन ।’ एमाले अध्यक्ष ओलीले ‘१७ असार’लाई गठबन्धन टुट्ने मिति भएको पटक–पटक भन्दै आएका छन् । कहिले त उनी एमालेले चाहेको चुट्की भरमा गठबन्धन फुट्ने पनि बताउने गरेका छन् । गठबन्धनकै कारण अघिल्लो पटक पहिलो बनेको एमाले दोस्रो हुन पुगेको ओली विश्लेषण छ ।  तर, गठबन्धन दलहरू एमालेविरुद्ध मजबुत तालमेलको तयारीमा छन् । सोमबारको निर्णयले त्यसकै सङ्‍केत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);