धनुषामा खुलेआम नक्कली चुरोटको अवैध कारोबार मौलाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धनुषामा खुलेआम नक्कली चुरोटको अवैध कारोबार मौलाउँदै

धनुषा, १ पुस । धनुषाको शहरी तथा ग्रामीण क्षेत्रहरुमा नक्कली चुरोटको अवैध बिक्री–वितरण भएको पाइएको छ । धनुषामा अहिले भारतमा उत्पादित नेपाली ब्रान्डका नक्कली चुरोटहरु छ्यापछ्याप्ती विक्री भइरहेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७१/७२ देखि लागू हुने गरी सुर्तीजन्य पदार्थको कारोबारमा कडाइ गरे पनि कार्यान्वयन पक्ष फितलो भएका कारण यसको अवैध कारोबार मौलाउँदै गएको छ ।

धनुषाको माचिलगमा, खजुरी, तिनकौरिया बजार, दुहबी लगायतका स्थानमा खुलेआम रुपमा नक्कली चुरोट विक्री भईरहेको पाईएको छ । सीमापारबाट यस्ता नक्कली चुरोट नेपाल ल्याइएपनि प्रहरीले कुनै चासो नदिएको स्थानीयको आरोप रहेको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले बजारमा नक्कली चुरोट पाइने गरेको आफुहरुलाई जानकारी भएको स्विकार गरेको छ । धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले नेपाल भित्रिने नक्कली चुरोट नियन्त्रणमा कडाई गर्न मातहतका प्रहरी चौकीहरुमा निर्देशन दिएको बताउनु भयो ।

सीमाक्षेत्रमा शिखर तथा खुकुरी ब्रान्डका नक्कली चुरोटहरु बिक्री भईरहेका छन् । भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रमा नेपाली उत्पादनको नक्कल गरी भारतमा उत्पादित चुरोट तथा सुर्तीजन्य पदार्थहरु खुलेआम विक्री भईरहेका छन् । यसलाई रोक्नको लागि सशस्त्र प्रहरीले पनि पहल थालेको सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीको भनाइ छ ।

यता, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेलले जुन कम्पनीको नक्कली चुरोट बजारमा भेटिएको हो त्यसको आधिकारीक बिक्रेले बढी चाँसो लिनुपर्ने बताउनु भयो ।

तस्करी विरुद्ध शुन्य सहनशीलता अपनाएको बताउँदै उहाँले यस सम्बन्धमा वितरकहरुको पनि सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सुर्तीजन्य ऐन २०६८ ले सार्वजनिक स्थलमा चुरोट, बिडी, गुट्खा र कक्कड सेवनमा रोक लगाएको छ । त्यसैगरी सुर्तीजन्य पदार्थको प्याकेटमा ७५ प्रतिशत भाग खतरामूलक सन्देशको चित्र छापिएको हुनुपर्ने छ ।

तर, सम्बन्धित निकायबाट समयमा बजार अनुगमन नहुँदा अहिले मापदण्ड विपरीत उत्पादन भएको सुर्ती तथा सुर्तीजन्य पदार्थहरु खुलेआम बिक्री–वितरण भइरहेका छन् ।

भारतीय बजारबाट भन्सार छली ल्याइएका नक्कली चुरोटले गर्दा एकातिर लाखौंको राजस्व सरकारले गुमाइरहेको छ । अर्कातिर अहिले भारतबाट नक्कली चुरोट आइरहेको कारण नाम चलेका स्वदेशी उद्योग नै धरासायी हुने खतरा बढेर गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);