कैदीबन्दीलाई पुनर्निर्माणको अभियानमा सहभागी गराउन समितीको सुझाव | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

कैदीबन्दीलाई पुनर्निर्माणको अभियानमा सहभागी गराउन समितीको सुझाव

sashi shrestha

काठमाडौं, १९ मंसिर । कारागारमा रहेका कैदीबन्दीहरुलाई पुनर्निर्माणको अभियानमा सहभागि गराउँदा राष्ट्रका लागि राम्रो हुने सुझाव संसदको राज्य व्यवस्था समितिले दिएको छ ।

बिहीबार संघिय संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा समिति सभापति शशी श्रेष्ठले कारागारमा रहेका युवाशक्तिहरुलाई पुनर्निर्माणको अभियानमा सहभागि गराउँदा राष्ट्रका लागि राम्रो हुने सुझाव दिनुभएको हो ।

अबको पुनर्निर्माण अरु देशसँग तुलना गर्नुभन्दा पनि हामी आफै अरुका लागि रोल मोडल बन्नुपर्ने उहाँले बताउनुभयो । ‘अबको काम अरु देशको उदाहरण दिँदै गर्ने होइन् । अरु देशले हाम्रो देशलाई रोल मोडलको रुपमा लिने गरि गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

सभापति श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै कार्य रुपमा परिणत गर्न निर्देशन दिनुभयो ।

समिति बैठकमा एकीकृतबस्ती निर्माणका विषयमा सांसदहरुले चाँसो राख्नुभएको थियो । सांसद दिलेन्द्र प्रसाद बडुले एकीकृत बस्ती निर्माणमा स्थानीयको रुचीलाई मध्यनजर गर्दै निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद नवराज सिलवालले पुनर्निर्माणको अवसरलाई सदुपयोग गरेर एकीकृतबस्ती निर्माण गर्न नसकिएको बताउनुभयो । ‘तयारी नपुगेरै होला एकीकृत बस्ती निर्माणको अवधारणा हामीले मिस ग¥यौ । अझै बाँकी रहेको ठाउँमा लागु गर्न सकिने अवस्था भएमा त्यतातिर ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो ।

अर्का सांसद कृष्णगोपाल श्रेष्ठले धरहराको पुर्ननिर्माण समयमै सकिनेमा आशंका व्यक्त गर्नुभयो । ठेकेदारसँग गरेको समझदारी के छ ? अहिले जुन अवस्थामा काम भइरहेको छ, यसले १० वर्षमा पनि बन्दैन्’, उहाँले भन्नुभयो, ‘२ हप्तामा एक तल्ला बन्ने भनेको के हो त्यो । नचाहिने कुरा नगर्नुहोस् ।’

सांसदहरुका जिज्ञासाको जवाफ दिँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले एकीकृत बस्ती निर्माणका लागि आफुहरुले चाहेर मात्रै नहुने बताउनुभएको छ ।

यो विषय जनताको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनसँग प्रत्यक्ष जोडिएकाले उनीहरुको सहभागिता र आग्रहबिना सम्भव नभएको बताउनुभयो । ‘प्राधिकरणले प्रस्तुत गरेको तथ्याङ्क र धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ‘समितिलाई स्पष्ट रुपमा भन्न चाहन्छौं । धरहरा पुनर्निर्माण समयमा नै गर्नेछौं ।’

बैठकमा सांसद अमरेश कुमार सिंह, प्रेम सुवाल, रेखा शर्मा, यशोधा सुवेदी, मिना पाण्डे लगायतले पुनर्निर्माण सम्बन्धी जिज्ञासा राख्नु भएको थियो ।