एजेन्सी, १८ मंसिर । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले बर्नलीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । बर्नलीको मैदानमा ग्राबियल जिससको गोलबाट सिटीले २४ औं मिनेटमा अग्रता बनाएको थियो ।
५० औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको ६८ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता ३–० को बनाए । ८७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटी ४–० ले अघि रह्यो । खेलको ८९ औं मिनेटमा बर्नलीका रोब्बी ब्राडीले एक गोल फर्काएपनि सिटी ४–१ ले विजयी भयो । जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १५ खेलमा ३२ अंक जोडेको छ । बर्नली ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।