हेटौंडा, ८ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित नवलपुरमा रहेको सहिद स्मारक पार्कले आन्तरिक एवं बाह्य पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको छ । समुदायबाट स्थापित एवं सञ्चालित सहिद स्मारक पार्कमा वर्षेनी ५ लाख पर्यटकले भ्रमण गर्ने गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकामा रहेको सहित स्मारक पार्क पछिल्लो समय सबैको आकर्षक पर्यटकीय स्थल बन्न थालेको छ । बजारबाट ७ किलोमिटर पश्चिम तथा पूर्व–पश्चिम राजमार्गको नवलपुरस्थित सडकबाट ३ किलोमिटर उत्तर सहिद स्मारक पार्क रहेको छ । एउटै ढुंगामा कुँदिएको १२ सहिदहरुको कलात्मक मूखाकृति पार्कको मुख्य आकर्षणको केन्द्र हो ।
आकर्षक उद्यान,दृश्यावलोकन गर्ने टावर, नमूना चिडियाघर, बाल उद्यानले गर्दा के बुढा के तन्नेरी, के बालबालिका । सबैलाई पार्कले आकर्षित गरेको पाइन्छ ।
२०५१ माघ १७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गर्नुभएको सहिद स्मारकको अवलोकन गर्न वर्षेनी ५ लाखभन्दा बढी पर्यटकले घुम्ने गरेका छन् । जनस्तरबाट निर्माण गरिएको स्मारकमा अहिले भने सरकारी तथा गैरसरकारी पक्षहरुले सहयोगका लागि हात बढाएका छन् ।

दैनिक हजारौँ पर्यटक आउने स्मारकमा सार्वजनिक बिदा र शनिबारका दिन थामिनसक्नु भीड हुने गर्छ । बिशेषगरी असोजदेखि माघ महिनाको अन्तिमसम्म पिक्निक जानेको घुइँचो लाग्ने गर्छ । बढ्दो भिडसंगै त्यस क्षेत्रमा उच्छृङगल गतिबिधि तथा हुलदंगा हुन नदिन सुरक्षा व्यवस्था राम्रो बनाइएको छ ।
जनस्तरबाट स्थापना भएको भएपनि सहिद स्मारक पार्कले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सफल भएको छ । यसबाट स्थानीय पनि खुशी नै छन् । स्मारकको प्रवेश शुल्क नै स्मारकको मुख्य आम्दानीको श्रोत हो । पार्कले वार्षिक डेड करोड बढी आम्दानी गर्ने गरेको छ ।




