सीमा सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

सीमा सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका कस्तो ?

काठमाडौं, २ मंसिर । नेपालमा शान्ति सुरक्षा कायम गर्न, भौगोलिक अखण्डताको रक्षा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन ओटा सुरक्षा निकाय छन् ।

तीन तीन ओटा सुरक्षा निकाय क्रियाशील हुँदा पनि नेपाली भूमि भने दशकौंदेखि छिमेकी मुलुक भारतबाट मिचिदै आएको छ । भौगोलिक रुपमा विकट स्थानमा त परै जाओस् सुगम स्थानमा पनि सुरक्षाकर्मीको उपस्थिति प्रभावकारी हुन सकेको छैन ।

सशस्त्र प्रहरी बलले सीमा रक्षाको जिम्मेवारी पाएको छ । हाल सशस्त्र प्रहरी बलले नेपाल र भारतको सीमा जोडिएका तराईका जिल्लाहरुमा एक सय सात ओटा बोर्डर आउट पोस्ट (बिओपी) खडा गरेको छ । तर, त्यो संख्या सीमा निगरानी गर्न पर्याप्त नभएकाले थप गर्नुपर्ने सुरक्षा अधिकारी बताउँछन् ।

दुई सय ६५ स्थानमा बिओपी राख्ने सशस्त्र प्रहरीको योजना कार्यान्वयन भए औसतमा सात किलोमिटरमा नेपाली सुरक्षाकर्मीको उपस्थिति हुनेछ । र सीमा क्षेत्रमा हुने अतिक्रमण लगायत जुनसुकै अवाञ्छित क्रियाकलाप रोक्न सक्ने सशस्त्र प्रहरी बलको विश्वास छ ।

हाल ३७ हजारको संख्यामा रहेको सशस्त्र प्रहरी बलले आधा भन्दा धेरै जनशक्ति सीमा सुरक्षार्थ खटाएको छ । सीमा सुरक्षासहित औद्योगिक सुरक्षा, विपद् व्यवस्थापन लगायतका एक दर्जन जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी बढाउन थप १५ हजार जनशक्ति र स्रोत साधन आवश्यक रहेको डिआइजी सुरजकुमार श्रेष्ठ बताउनुहुन्छ।

तराईका जिल्लाहरुमा केही संख्यामा बिओपी स्थापना भएपनि हिमाली जिल्लाहरुमा भने त्यो पनि छैन । जिल्ला सदरमुकामसम्मको उपस्थितिलाई पनि उपलब्धि मान्नुपर्ने स्थिति छ ।

छिमेकी मुलुक भारतले नेपाली भूमिमा स्थायी क्याम्प खडा गर्दा त्यसलाई हटाउन पहल गर्नु त परै जाओस् नेपालले भने आफ्नै भूमिमा सुरक्षाकर्मीलाई चिसोबाट जोगाउन सकिरहेको छैन । उच्च पहाडी र हिमाली क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति मौसमी बनेको छ । जसका कारण नेपाली भूमि मिचिन पुगेको छ ।

भीआइपीको नाममा एउटै व्यक्तिका लागि दर्जनौ सुरक्षाकर्मी परिचालन गर्ने तर मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग जोडिएको सीमा रक्षाको लागि अति आवश्यक व्यवस्था गर्न नसक्नुले नेपाली शासकको चरित्र उदाङ्गो पार्छ ।

विगतमा जेजस्ता कमीकमजोरी भएको भएपनि अब भने कति पनि समय खेर नफाली नेपाली सुरक्षाकर्मीलाई स्रोतसाधन सम्पन्न र क्षमतावान बनाई सीमा क्षेत्रमा परिचालन गर्न ढिलाई गर्नु हुँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);