दाङमा उपनिर्वाचनका लागि उम्मेदवारहरु मत माग्न ब्यस्त | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

दाङमा उपनिर्वाचनका लागि उम्मेदवारहरु मत माग्न ब्यस्त

विकास डाँगी
दाङ, २ मंसिर । मंसिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिदै गर्दा दाङका गाउँगाउँमा चुनावी माहोल बढ्न थालेको छ । दाङ क्षेत्र नं. ३ (ख) मा हुन गइरहेको निर्वाचनका लागि उपनिर्वाचनमा १२ दलका उम्मेदवार र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

दाङ क्षेत्र नं.३(ख) मा हुन गईरहेको निर्वाचनका लागि आ–आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरुलाई भ्याई नभ्याई भएको छ । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले दाङलाई प्रदेश राजधानी बनाउने देखि पश्चिम दाङको विकास गर्ने भन्दै चुनावी नारा बनाएका छन् ।

जम्मा १४ जना उम्मेद्वार रहेको यस निर्वाचन क्षेत्रमा प्रदेश सभाको १ र संघिय तर्फ १ पद खाली रहेको छ । १२ दलका उम्मेद्वार र २ जना स्वतन्त्रले उम्मेद्वारी दिएको भएपनि प्रतिस्पर्धा भने नेकपा र नेपाली कांग्रेसबीच हुने अड्कल गरिएको छ ।

नेकपाले स्वर्गीय उत्तर कुमार वलीकी धर्मपत्नी विमला वलीलाई उम्मेद्वारीमा खडा गरेको छ भने कांग्रेसले केशवराज आचार्यलाई उठाएको छ । आफुले दाङको पश्चिम क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, कृषि लगायत सञ्चारको विकासका लागि जोड दिने नेकपा उम्मेद्वार विमला वलीले बताउनु भयो ।

यता कांग्रेसका उम्मेदवार केशवराज आचार्यले आफुलाई जिताए दाङलाई प्रदेशको राजधानी बनाउने कार्यमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवारले मात्र नभई प्रदेशको राजधानीको लागि समाजबादी पार्टी र राप्रपा संयुक्तले पनि राजधानीको लागि पहल गर्ने बताएका छन्।

जिल्लाको २ स्थानमा हुने उपनिर्वाचनका लागि ४२ मतदान केन्द्र र ३४ वटा निर्वाचन स्थल छन् । ति मध्ये ६ वटा स्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल, २६ वटा संवेदनशील र २ वटा सामान्य रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताउनुभयो ।

दाङमा क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं १६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । जस अन्तर्गत क्षेत्र न ३ (ख) मा ३२ मतदान स्थल र घोराही उपमहानगरपालिका वडा नं १६ मा २ निर्वाचन स्थल रहेका छन् ।

यस उपनिर्वाचनमा विजयी बनेर नेकपा आफ्नो दुइतिहाइको शक्ति प्रदर्शन गर्न चाहन्छ भने नेपाली कांग्रेस जनताले अव कम्युनिष्टलाई विश्वास नगर्ने देखाउन चाहन्छ ।

ताजा समाचार