झापा, २८ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा अब गुट र उपगुटको अन्त्य हुने दावी गर्नुभएको छ ।
बिहीबार नेपाली काँग्रेस झापाले पार्टी कार्यालयमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा उहाँले गुट र उपगुटले कांग्रेसलाई कमजोर बनाएको स्वीकार गर्दै अब त्यसको अन्त्य हुने दावी गर्नु भएको हो ।
कार्यक्रममा कांग्रेस नेता डाक्टर शेखर कोइरालाले राज्य कोषमा भएको आम्दानी भन्दा खर्च बढी भएकाले संघीयता नै खतरामा परेको बताउनु भयो । नेता धनराज गुरुङले नेपालको सीमा मिचिँदा समेत सरकारले केहीगर्न नसकेको प्रतिक्रिया दिनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभाका सदस्य सुधीरकुमार शिवाकोटी, पार्टीका केन्द्रिय सदस्य सरिता प्रसाई, रामहरि खतिवडा, प्रदेश नम्वर १ का प्रमुख सचेतक केदार कार्की लगायतले बोल्नु भएको थियो ।