राष्ट्रियताको मुद्दामा सरकार र दलहरुको अग्नी परीक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

राष्ट्रियताको मुद्दामा सरकार र दलहरुको अग्नी परीक्षा

विपीन श्रीष
काठमाडौं, २८ काठमाडौं । दार्चुला जिल्लाको लिम्पियाधुरा आसपासको जमिन नेपालकै भएर पनि भारतीय मिचाह प्रवृतिका कारण सीमा विवाद देखिएको छ । लिम्पियाधुराको कालापानी, लिपुलेक लगायत झण्डै चार सय वर्ग किलोमिटर नेपाली भूभाग भारतले आफ्नो नक्सामा समावेश गरेपछि सीमा विवाद आएको हो । यो विवादलाई दलहरु मिलेर अब सरकारले कसरी समाधान गर्छ राष्ट्रियताको मुद्दामा दलहरुको अग्नी परीक्षा शुरु भएको छ ।

सन् १८१६ मा सुगौली सन्धि भएपछि कायम भएको सीमा क्षेत्र भित्रको जमिन नै नेपालको भूगोल हो । त्यही अनुसार नेपालको नक्सा बनेको छ । त्यही भूगोल भित्र बनेको नेपालको नक्सा अहिले बिगारिंदैछ ।

कारण भारतीय दवाव र प्रभावमा नेपालको भूमि वर्षेनी अतिक्रमण हुनु नै हो । दार्चुलाको लिम्पियाधुरा क्षेत्रको झण्डै चारसय वर्गकिलोमिटर भारतले जबर्जस्ती अतिक्रमण गरेको छ । अतिक्रमित भूमिमा भारतले आप्mनो सुरक्षा फौज तैनाथ गरेको छ ।

सुरक्षाफौज तैनाथ मात्र गरेको छैन, अहिले त नेपाली भूमि समावेश गरी भारतले नयाँ नक्सा समेत सार्वजनिक गरेको छ । सीमा अतिक्रमण सुदूरपश्चिमको विकट जिल्लाको मात्र होइन, सुगम भनिएका तराईका थुप्रै जिल्लाको पनि भारतले सीमा अतिक्रमण गरिरहेको छ ।

भारतको हेपाहा प्रवृत्ति र मिचाह प्रवृत्ति बढ्दै गएपछि दलहरुको भूमिका र सरकारप्रति पनि अनेक कोणबाट प्रश्न उठ्न थालेको छ । ठूलाठूला राजनीतिक परिवर्तनपछि सरकारमा आएका दल र बनेको सरकारमाथि अहिले सीमा सुरक्षाको परीक्षण घडी शुरु भएको छ ।

नेपाल भारत सीमा समस्या नयाँ होइन, यो समस्या पुरानै हो । समस्यापछि पनि दुई देशका उच्चस्तरीय भ्रमणहरु लगातार भइरहेका छन् । तर समस्या जहाँको तहीं नै छ । उच्चस्तरमा वार्ता गरी समाधानको बिन्दु खोजिनु पर्नेमा सीमा समस्या समाधानका लागि कर्मचारीस्तरीय संयन्त्र खडा गरेको देखिन्छ । जुन अहिले नकाम जस्तै नै देखिन्छ ।

बढ्दो नेपाली जनताको आक्रोशलाई सामसुम पार्न आँखामा छारो हाल्ने काम गरेजस्तो मात्र देखिन्छ । अतिक्रमित क्षेत्रमा भारतले नापी समेत गर्न नदिएको शक्तिशाली सरकारका मन्त्री नै निर्लज्ज स्वीकार गर्छन् ।

विगतमा जे जस्ता कमीकमजोरी भएपनि अब भने एक अर्कालाई आरोप्रत्यारोप नगरी ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा विवाद सुल्झाउनुपर्नेमा सबै एकमत छन् । सबैको साथ भएकाले सीमा विवाद समाधान गर्न वर्तमान नेतृत्वलाई ठुलो अवसर भएको जानकारहरु बताउँछन् ।

नेपालका नेताहरु सबै भन्दा बढी भ्रमण गर्ने भारत नै हो । हरेक पटक सरकारको नेतृत्व फेरिनेबितिक्कै पहिलो भ्रमण भारतकै हुने गर्छ । हरेक पटकको भारत भ्रमणपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुग्यो भनी चर्को आवाजमा दावी गर्न नेताहरुबीच होडबाजी नै चल्छ ।

तर, सीमा सम्बन्धको बारेमा सार्थक जवाफ दिन सक्दैनन् । नेपाली जनताको मत पाएर सत्तामा पुगेका नेताहरु भारतसँग किन निरिह बन्छन् ? भारतले एकलौटी आफ्नो नक्सा समावेश गरेको नेपाली भूभागलाई दलहरुको साथ लिएर फिर्ता लिन सरकारले सक्ला ? सबै राजनीतिक दल र यो सरकार अहिले परीक्षणको घडीमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);