सीमा क्षेत्रका वासिन्दा पुस्तौंपुस्तादेखि पीडामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सीमा क्षेत्रका वासिन्दा पुस्तौंपुस्तादेखि पीडामा

कैलाली, २८ कात्तिक । भारतीय सीमा अतिक्रमणको चौतर्फी विरोध भइरहँदा कैलालीको मोहनापुर नदी पारिका स्थानीयले सरकार छ भन्ने अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । पुल नहुँदा आवतजावतमा कठिनाई र लालपूर्जा नहुँदा भारतीय पक्षको हप्की दप्की खानुपर्ने बाध्यता स्थानीय वासिन्दालाई पुस्तौपुस्तादेखि छ ।

भारतीय सीमा क्षेत्रका नेपालीहरुले भोगेको वास्तविक अवस्थालाई न सरकारले बुझेको छ न त राजनीतिक दलहरुले नै । वास्तविकता नबुझिदिंदा सीमा क्षेत्रका वासिन्दा पुस्तौंपुस्तादेखि पीडामा पर्दै आएका छन् ।

भारतीय सीमा अतिक्रमणको विरोधमा भारत विरोधी चर्काे नारा लागिरहँदा स्थानीय वासिन्दा नेपाल सरकारप्रति पनि आक्रोसित भइरहेका छन् । सिमा रक्षा गर्नुको त धेरै टाढाको कुरा हो, स्थानीयवासिन्दाले राज्यको अनुभूतिसमेत राम्रोसँग गर्न नपाएको गुनासो छ ।

कैलाली जिल्लाको कलारी गाउँपालिकाको सिमाना मोहना नदीपारीका गाउँमा अझै राज्यको दृष्टि पर्न सकेको छैन । नदीमा पुल नहुँदा हरेक दिन जोखिम मोलेर ओहोरदोहोर गर्ने गरेको स्थानीयको भनाइ छ ।

कैलालीमा मोहनपुर, हौसलपुर र शिरत्नपुर गरी तीन गाउँ मोहना नदी पारी पर्दछ । मोहना पारीका यी ३ वटै गाउँ कैलारी गाउँपालिकामा पर्दछ । तर, कुनै पनि ठाउँमा पुल नभएका कारण स्थानीयहरु मोहना नदी ओहोरदोहोर गर्ने एकमात्र विकल्प डुङ्गा रहेको छ । त्यस्तै अर्का स्थानीय राज कुमार चौधरी लालपुर्जा नभएकै कारण भारतीय पक्षले पटक पटक दुख दिने गरेको बताउँछन् ।

सीमा क्षेत्रका नागरिकलाई राज्यको अनुभुती नै नभएको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ । कलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी भने गाउँमा स्वास्थ्य सेवा, प्राथमिक विद्यालय, खानेपानी, विद्युत लगायतका समस्या समाधानका लागि गाउँपालिकाले झण्डै ६ लाख बजेट विनियोजन गरेका दाबी गर्नुहुन्छ ।

सीमा क्षेत्रका स्थानीयहरुको समस्या समाधानका लागि प्रदेश सरकारले पनि प्राथमिकतामा कार्यक्रम राखेको छ । प्रदेश सरकारको सहयोगमा खोनपुर घाटमा झोलुंगे पुल निर्माणका लागि डिपिआर तयार भइसकेको छ ।

सीमा क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरुले सीमा सुरक्षाका लागि विना वर्दी सेनाको भूमिका निर्वाह गरिरहेका हुन्छन् । हरेक कालखण्डमा राजनीतिक परिवर्तनको साथै सरकार परिवर्तन भइरहँदा पनि स्थानीयले राज्य छ भन्ने अनुभुति गर्न नपाउनु पक्कै पनि दुःखद विषय हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);